लुम्बिनी प्रादेशीक अस्पतालका सटरहरु मंसिरसम्म खाली नगराए डोजरले भत्काईने

रुपन्देही, २० कात्तिक । लुम्बिनी प्रादेशीक अस्पताल परिसरमा रहेका सटरहरु भत्काउनको लागि सामाजिक विकास मन्त्रालयले निर्देशन दिएको छ । सोमबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले अस्पतालको उत्तर पूर्व तर्फ रहेका सटर भत्काउने सामाजिक विकास मन्त्रालयको प्रस्तावलाई स्विकृति दिएको हो ।
मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बैठकले अस्पतालको उत्तर पूर्व तर्फ रहेका सटर भत्काउने सामाजिक विकास मन्त्रालयको प्रस्तावलाई स्विकृति दिने सहित चार निर्णय गरेको जानकारी दिए ।
अस्पतालका सटर भत्काउन जारी गरेको सूचनाको म्याद कार्तिक मसान्तमा सकिने र त्यस पछि व्यवसायीहरुलाई एक महिनाको समय दिने सो समय भित्र सटर खाली नगरे मन्त्रालयले डोजर चलाएर सटर भत्काउन सामाजिक विकास मन्त्रालयलाई स्विकृति दिने निर्णय गरिएको प्रवक्ता चौधरीले बताए ।
वार्षिक झण्डै नौ करोड आम्दानी दिदै आएको अस्पतालका ७२ वटा सटर भत्काएर मन्त्रालयले कम्पाउण्ड वाल बनाउने भएको छ । अस्पतालमा बिकास समितिका तर्फबाट २ सय भन्दा बढी कर्मचारीहरु कार्यरत रहका छन । आम्दानीको मुख्य स्रोतको रुपमा रहेका सटरहरु भत्काए पछि अस्पतालको सेवा प्रभावित हुने र निजि अस्पतालहरुको व्यवसाय बढ्ने ब्यबसायीको भनाइ छ ।