बर्दिवासमा आँखा रोगीको संख्या बढ्दै, ८ सयमा मोतियाविन्दुको समस्या

महोत्तरी, १९ कात्तिक । जिल्लाको बर्दिवास न.पा. तथा आसपासका क्षेत्रमा आँखा रोगीको संख्या ६ हजार बढी पाईएको छ ।
बिगत ७ वर्षदेखि महोत्तरीको बर्दिवासमा सञ्चालित बर्दिवास आँखा अस्पतालको तथ्याङ्क अनुसार यस क्षेत्रका मानिसमा आँखा सम्बन्धी समस्या अत्याधिक रहेको पाईएको हो । जिल्ला तथा नगरका विभिन्न क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको अस्पतालको तथ्याङ्क अनुसार गत मार्चदेखि हाल सम्म ६ हजार एक सय ९७ जनामा आँखाको समस्या रहेको र ८ सय साठी जनामा मोतिबिन्दू रहेको तथा पाँच सय ७४ जना मोतिबिन्दु संक्रमित बिरामीको सफलता पुर्वक शल्यक्रिया गरिएको अस्पताल श्रोतले बताएको छ । साथै बाँकी रहेका मोतिबिन्दु संक्रमित बिरामीको शल्यक्रिया यही आाउँदो डिसेम्बर भित्र गरिसक्ने लक्ष्य रहेको अस्पतालले बताएको छ ।
हाल सम्म ३१ सय भन्दा बढी बिरामीको सफलता पुर्वक शल्यक्रिया गरिसकेको अस्पतालले नगर तथा जिल्ला वरपरका विभिन्न क्षेत्रमा रहेका तथा आर्थिक अवस्था कमजोर भएका आँखाका बिरामीहरुका लागी निशुल्क शिविर सञ्चालन गर्दै आएको छ । अति विपन्न तथा कमजोर आर्थिक अवस्था भएको बिरामीहरुका निःशुल्क शिविर सञ्चालन गर्दै आएको सो अस्पताललाई शिविर सञ्चालनका लागी हिमालय आई केयर फाउन्डेसन भक्तपुरले निःशुल्क रुपमा चिकित्सक तथा अप्रेसन सामाग्री उपलब्ध गराउँदै आएको छ भने शिबिर बाट छानिएका बिरामीहरुका लागी नेत्रहिन संघ पुर्नस्थापना कार्यक्रम महोत्तरीले ल्याब टेष्टका लागी आवश्यक पर्ने रकम सहयोग प्रदान गर्दै आएको छ ।
आउँदो जनवरीदेखि धनुषा, सर्लाही, रौतहट, सिन्धुली लगाएतका क्षेत्रहरुमा निशुल्क आँखा शिविर सञ्चालन गर्ने तथा शिविरको विभिन्न चरणमा गरेर ३ हजार बढी मोतिबिन्दु संक्रमित बिरामीको निशुल्क शल्यक्रिया गर्ने लक्ष्य रहेको अस्पतालले जनाएको छ ।
आर्थिक अवस्था कमजोर भएकै कारण आँखा जस्तो संवेदनशिल अंगको उपचारबाट कोही बञ्चित हुन नपरोस भनेर जिल्लाका विभिन्न क्षेत्रमा निःशुल्क शिविर सञ्चालन गर्दै आएको र आउँदो दिनहरुमा जिल्ला बाहेकका ग्रामिण क्षेत्रहरुमा समेत सेवा विस्तार गर्दै लैजाने अस्पतालका सञ्चालक मकुन्द प्रसाद पौडेलले बताए ।