डाक्टर बाबु र नर्स छोरीको दुर्घटनामा मृत्यु

विराटनगर, १८ कात्तिक । मोरङको बूढीगंगा गाउँपालिका १ स्थित शान्ति चोकमा सवारी दुर्घटनामा परी डाक्टर बाबु र नर्स छोरीको मृत्यु भएको छ ।
बूढीगंगा गाउँपालिका ५ घर भएका ५२ वर्षीय नेत्र रोग विशेषज्ञ डा. शुवालाल माझी र स्टाफ नर्स रहेकी उनकी छोरी २६ वर्षीया अञ्जली माझीको सोमबार बिहान दुर्घटनामा परी मृत्यु भएको हो ।
शुवालाल गोल्छा आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ हुन् भने अञ्जली न्युरो अस्पतालकी स्टाफ नर्स हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुका अनुसार उनीहरु को २७ प १०२२ नम्बरको विराटनगर आउँदै गरेको मोटरसाइकललाई विराटनगरबाट सुनसरीको खनारतर्फ जाँदै गरेको को १ ख ७२३२ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको जानकारी खिँउजुले दिए ।
दुर्घटनामा परेर घाइते भएका दुवै जनाको उपचारका क्रममा विराट टिचिङ अस्पतालमा र्पुयाउँदा चिकित्सकले मृत घोषणा गरेको खिँउजुको भनाइ छ।
तीव्र गतिमा अघि रहेको बसले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको ट्राफिक प्रहरीका सहायक निरीक्षक तुलामणि आचार्यले बताए ।