चिकित्सक पुगेपछि डडेल्धुरा अस्पतालका अवरुद्ध सेवा सुचारु
डडेल्धुरा, १८ कात्तिक । डडेल्धुराको डडेल्धुरा अस्पतालमा विगत डेढ महिनादेखी अवरुद्ध सबै सेवाहरु आईतबारदेखि सुचारु भएका छन । चिकित्सक अभाव भएपछी सबैसेवा बन्द भएकोमा चिकित्सक पुगेपछि सेवा सुचारु भएका हुन ।
विदामा गएका अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डा.जितेन्द्र कँडेल फिर्ता आएको र अन्य चिकित्सकसमेत अस्पतालमा पुगेपछि अवरुद्ध सम्पुर्ण सेवा सुविधा सुचार भएको अस्पताल प्रशासनले जनाएको छ ।
डा. कँडेल आएसंगै डडेल्धुरा अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्माउने सिएस सेवा, भिडियो एक्सरे, हर्निया, हाईड्रोसिल, एपेन्डीसाईडको शल्यक्रिया सेवा, सुरक्षीत गर्भपतन सेवा लगायतका सेवा सुचारु गरिएको हो । डडेल्धुरा अस्पतालमा बन्द रहेका सेवा सुविधा सुचारु भएपछि डडेल्धुरा सहित सुदूरपश्चिम प्रदेशका बैतडी, डोटी, बझाङ, बाजुरा, अछाम र दार्चुला जिल्लाका विरामीलाई सहज भएको छ ।
संघीय सरकार मातहतको एकमात्र डडेल्धुरा अस्पतालमा चिकित्सक अभावमा अस्पतालबाट प्रवाह हुने सेवा सुविधा अवरुद्ध हुँदा सुनसान बनेको डडेल्धुरा अस्पतालमा बिरामीको चाप पनि बढन थालेको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु बताउँछन । चिकित्सक अभावमा डडेल्धुरामा सिएस सेवा बन्दहुँदा करिव डेढ महिनादेखी यस क्षेत्रका गर्भवती महिलाहरु तराईका जिल्ला र भारतीय अस्पताल जानुपर्ने बाध्यता थियो । टाढाको अस्पताल जानुपर्दा कतिपयले बाटौमै वच्चा जन्माएका थिए भने शनिबार मात्रै बाजुराकी एक सुत्केरिको स्वास्थ्य संस्थामै निधन भएको थियो ।
कर्मचारी समायोजनका कारण अस्पतालमा चिकित्सक अभाव भएपछि डडेल्धुरा जिल्लाबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लको नेतृत्वमा जनप्रतिनिधीहरु सम्मलित समुहले राजधानी पुगेर स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेटेर तत्काल चिकित्सक पठाउन आग्रह गरेपछि चार जना चिकित्सक पठाइएको छ ।
कर्मचारी समायोजनले भएका मेडिकल अधिकृतहरु पनि अन्तै गएपछि अस्पतालले दिँदै आएका सेवा प्रभावित भएको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए । उनका अनुसार कन्सल्टेण्ड चिकित्सक १९ जना र मेडिकल अधिकृत १८ जना, ४४ प्रकारका कर्मचारीहरुलगायत रहने गरी १०९ जना कर्मचारीको दरबन्दी स्विकृत भएको थियो । तर यो अस्पतालले दरबन्दीअनुसारका चिकित्सक कहिलै पाएन ।