युनिभर्सल मेडिकल कलेजका बिद्यार्थी आन्दोलित, ज्ञापनपत्र बुझाउन जाँदा हातपात



Download our app to get more features

रुपन्देही १६ कार्तिक । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा एमबीबीएस अध्ययनरत बिद्याथीले सरकारले तोकेभन्दा बढी शुल्क लिएको रकम फिर्ता गर्न माग गर्दै ज्ञापन पत्र बुझाउन जाँदा बिद्यार्थीमाथि हातपात भएको छ ।

सरकारले एमबिबिएस पढनको लागी ४२ लाख  ५० हजार शुल्क तोकेको भएपनि कलेजले बिभिन्न बहानामा १५ लाख बढी शुल्क लिने गरेको कारण त्यो रकम फिर्ता वा शुल्कमा समायोजन हुनुपर्ने भन्दै बिद्यार्थीहरु आन्दोलित भएका हुन् । 

युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवामा एमबीबीएस अध्ययनरत भुपेश चन्दका अनुसार कलेजले अवैधानिक रूपमा लिएको पैसा फिर्ता गर्न माग गर्दै बिहीबारदेखि विद्यार्थीले शुरु गरेको आन्दोलनमा दोश्रो दिन प्रहरीले हस्तक्षेप गरेको बताए ।

अतिरिक्त शुल्क हटाउनु पर्ने माग गर्दै अस्पताल प्रसाशनलाई ज्ञापन पत्र बुझाउन लाग्दा प्रहरीले विद्यार्थीमाथि लाठी चार्ज गरेको चिकित्सा शिक्षा संघर्ष समितिका विद्यार्थीहरुले दावी गरेका छन् । प्रहरीको लाठी चार्जबाट १० जना विद्यार्थी घाइते भएको उनीहरुले जनाएका छन् । आन्दोलनमा सहभागी विद्यार्थीलाई अस्पताल प्रवेशमा समेत रोक लगाइएको छ।

उता प्रहरीले सो कलेजका विद्यार्थीमाथि लाठीचार्ज नभएको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता खड्क बहादुर खत्रीले विद्यार्थीहरुले गेटमा धर्ना बसेर एम्बुलेन्स लगायतका अत्यावश्यक साधन रोक्न खोज्दा सामान्य धकेलाधकेलमात्र भएको बताए । कलेजका विद्यार्थीहरुले अवैधानिक रुपमा असुलेको शुल्क फिर्ता गर्न माग गर्दे  १० दिन पहिले कलेज प्रशासनलाई निबेदन दिएका थिए ।

अवैधानिक शुल्क फिर्ता गराइदिन सहयोग माग गर्दै युनिभर्सलका विद्यार्थीहरू जिल्ला प्रशासन कार्यालयसमेत पुगेका थिए । विद्यार्थीहरुले गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले सरकारले निर्णय गरिसकेकोले तोकेभन्दा बढी लिएको पैसा फिर्ता गराउन सहयोग गर्ने आश्वासन दिएका थिए ।
प्रमुख जिल्ला अधिकारीले हामीलाई धेरै पैसा तिरेको प्रमाण ल्याउनु भन्नु भएको छ । पैसा लिँदा कलेजले बिल दिएको छैन । तैपनि ठीकै छ भन्दै हामी कलेज फर्कियौं,’ एमबिबिएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थी चन्दले भने ।

सरकारले तोकेभन्दा १० देखि १५ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको विद्यार्थीहरूको गुनासो छ । विद्यार्थीहरुको आन्दोलनका विषयमा कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङ्गले विद्यार्थीमाथि लाठी चार्ज नभएको दाबी गरे। उनले बिरामीलाई विद्यार्थीले उपचार गर्न जान नै रोक लगाएपछि प्रहरीले बाटो क्लियर गराएको मात्र बताए ।
कलेजभन्दा बाहिरका बिद्यार्थी आएर आन्दोलन गरेका कारण होस्टल जान रोक लगाएको उनको भनाइ छ । उनले समस्या समाधानका लागि अस्पताल प्रशासन छलफल गर्न तयार रहेको जानकारी दिए ।

पोखराको गण्डकी मेडिकल कलेज, भरतपुरको चितवन मेडिकल कलेज र वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका विद्यार्थीले अवैधानिक रूपमा लिएको पैसा फिर्ता गर्न गरकोे आन्दोलन सफलोन्मुख भएसँगै सबै मेडिकल कलेजमा अन्यायमा परेका विद्यार्थी जुरमुराउन थालेका छन् । 

Last modified on 2019-11-03 10:39:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts