प्राडा भगवान कोइराला सरको घरमा देउसीभैलो खेल्दा...



Download our app to get more features

तिहारको बहुआयामिक पाटो छ । दसैं सकिएको एक महिना नबित्दै आउने यो चाड पशुपन्छीसँग मानिसको सम्बन्ध, फूल, उज्यालो अनि दाजुभाई–दिदीबहिनीको प्रेममा केन्द्रित छ । धार्मिक पक्ष आफ्नो ठाउँमा होला तर यसको सामाजिक एवं मनोवैज्ञानिक पाटो पनि उत्तिकै महत्वपूर्ण छ । काग, कुकुर, गाई तथा गोरुको पूजा गर्नुले यी पशुपन्छीको मानिसको जीवनशैलीसँगको नाता र महत्व बोध गराउँछ ।

लक्ष्मीपूजा र गोरुपुजाको दिन खेलिने देउसीभैलोले समग्र समुदायमै सम्बन्ध र भाइचारा बढाउन टेवा पु¥याउँछ । एक अर्काको घरमा गएर गीत गाउँदै नाचगान गर्दा वातावरण रमाइलो हुन्छ र सँस्कृति सम्वर्धनमा योगदान पु¥याउँछ । देउसी र भैलोका भाका गुञ्जेझै लाग्दा यो मन पखेटा हालेर ति दिनहरूमा पुग्छ जहाँ बाल्यकालका मधुरताहरू अझै अवशेषमा बाँकीं छन् ।

बाल्यकालमा कलाको मौलिकता के हो ? सृजना के हो ? हामीलाई पत्तै थिएन । सायद तिहारको मोहनीमा देउसी समूह बनाएर हामी गाउँ घर डुल्थ्यौं । कोही भट्टायाउने । कोही मादल बजाउने । कोही खैझडी बजाउने । कोही नाच्ने त कोही ताली पिट्ने । संगैका साथीसंगीलाई मज्जाले जिस्काउने जम्मा भएका सेलरोटी र चिनीरोटीहरु भोकाएका पेटहरू मिलेर खाने, अनि जम्मा भएका चामल र सरसामाग्री लिएर वनभोज जाने । रकम अलि बढी नै उठेमा भने विभिन्न कार्यक्रम गर्ने । सायद आत्मियताको अभिरुचि थियो बाल्यकालको देउसी भैलोमा ।

ति सौन्दर्यका रेखाहरू मेटिँदै     
नौलो आयामहरूमा गासिँदै गए, नवीनताका सन्देशहरू हराउँदै हराउँदै गए
अचेल सँस्कृति पैसासँग दाजिन्छ
मनको माया इज्जतसँग दाजिन्छ 
अचेल युवायुपती घरैबाट बाहिर निस्किन गाह्रो मान्छन् युट्युबमा देउसी हेरेर बस्छन् 
निस्की नै हाले
ड्रम र गितार बोकेर हामी यस्तै त हो नि ब्रो...भन्न थाल्छन् ।
जादू खै के मा छ ?
स्वर्गबाट ओर्लिदै छौं
दुःखहरूमा घेरिदै छौं हामीलाई स्पन्दनले
भन्दा आधुनिकताले प्यासी बनायो
र सम्पन्नताले दासी बनायो ।

कला र संँस्कृतिको जगेर्नो गर्ने र कोषमार्फत सामाजिक कार्य गर्ने उद्देश्यले पोहोरको वर्ष झै, यसवर्ष पनि मैले नेतृत्व गरेको संस्था केएमसी पूर्व विद्यार्थी संघद्वारा आयोजित देउसी भैलो कार्यक्रम ०७६ अन्तर्गत आदरणीय गुरू प्राडा भगवान कोइरालाको घरमा हिजो लक्ष्मी पूजाको साँझ देउसी खेल्ने अवसर जुट्यो । संयोग के रह्यो भन्दा उहाँसहित उहाँहरुको परिवार पनि हाम्रो कार्यक्रममा जोडिन आईपुग्नुभयो । त्यो क्षण हाम्रा लागि अविस्मरणीय बन्न पुग्यो । मादलुको तालमा र गितारको लयमा भट्याउने र विभिन्न लोक सँस्कृति झल्कने गीतहरूमा नृत्य पस्किने क्रम जारी नै रह्यो । बिरामी जाच्दा सेतो एप्रोनमा मात्र प्राय देखिनु हुन्छ उहाँं । तर जब उहाँं नेपथ्यको गीत मै नाचे छमछमी...मा नाच्न थाल्नु भो । हामी दंग र प्रफुल्लित भयौं ।

दुनियाँ बदल्न नवीनताको जादूको पछि दौडिरहने उहाँ मनोरञ्जन, कला र सिर्जनाका क्षेत्रमा समेत यति प्रखर हुनुहुँदो रहेछ । हामीले सोचेका पनि थिएनौं । साच्चै नै कला र सँस्कृतिको उत्पत्ति मनुष्यको अनन्त चेतको प्रतिभाबाट हुँदो रहेछ । सरहरुको प्रस्तुतिले प्रमाणित गरिदियो । दिव्य आभास, सौन्दर्य, हृदयस्पर्शीता सबै सबै साकार भए झै लाग्यो । कला, सँस्कृति र सिर्जनाको मूल तत्व आपसी प्रेम, स्नेह, सुमधुर सम्बन्ध हो र यी सबैले मानिसको जीवनमा उर्जा र हौसला प्रदान गर्नुको साथै अलौकिक आन्नदमा मानिसलाई प्रवेश गराउँछ । सर र म्यामसँगै कम्मर मर्काएर नाच्न पाउँदा हामी खुशीले गद्गद् थियौं । सरहरुको मिठा मिठा दुई चार शब्दहरु सुन्दै हामी रमाईरहेका थियौं ।

बलिराजाको आदेश अनुसार नै सहि हामी फेरि अर्को तिहारमा आउने बाचा गर्दै आशिष दिदैं बिदा भयौं । यस संस्थामा आबद्ध हामी सबै डाक्टर, इन्जिनियर, सिए आदि प्राडा भगवान सरले गर्नुभएको स्वागतका लागि जीवनभर कृतज्ञ रहनेछौ 

 

Last modified on 2019-10-31 12:16:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts