नरदेवीमा मनाइयो धनवन्तरी जयन्ती, आधुनिक डाक्टरले पनि गरे प्रशंसा
मन्त्रीको गुनासोः बजेट खर्च प्रभावकारी भएन
.jpg&w=800&h=480&static=true)
काठमाडौं, ९ कात्तिक । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले आयुर्वेद क्षेत्रमा गरेको लगानीबाट प्रभावकारी प्रतिफल नआएको बताएका छन् ।
मन्त्रालय अन्तर्गतको आयुर्वेद चिकित्सालय नरदेवीले आयोजना गरेको राष्ट्रिय आरोग्य दिवस एवं धनवन्तरी जयन्तीको अवसरमा मन्तव्य दिँदै मन्त्री यादवले आयुर्वेद चिकित्सालय नरदेवी, सिंहदरवार वैद्यखाना, जडिबुटी प्रशोधन केन्द्र लगायत निकायको काम प्रभावकारी हुननसकेको दावी गरे । नरदेवी चिकित्सालयमा सेवा लिन आउने बिरामीको संख्या बढ्न नसकेको भन्दै मन्त्री यादवले यसका निम्ति आयुर्वेदको प्रवद्र्धन गर्नुपर्ने बताए ।
उनले भने- नरदेवीमा बिरामीहरुको संख्या खासै भएको पाइएन, अर्को वर्ष आउँदा यो अवस्थामा सुधार होस् । १ सय बेडले पनि नपुगोस् । वैकल्पिक र परम्परागत उपचार र प्रवद्र्धन गर्ने निकायले भएकै बजेट समेत खर्च गर्न नसकेको भन्दै मन्त्री यादवले प्रभावकारी काम गर्न अस्पतालका अधिकारीहरुलाई निर्देशन दिए । आयुर्वेद, प्राकृतिक चिकित्सा, चाइनिज परम्परागत उपचार लगायत वैकल्पिक चिकित्साका विधि प्रभावकारी पाइएको मन्त्री यादवको भनाइ छ । उनले सबै उपचार पद्धतिको समयानुकुल विकासका लागि सबैलाई इमान्दार भएर काम गर्न आह्वान गरे ।
कार्यक्रममा आयुर्वेद विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायले आयुर्वेद विज्ञानको आफ्नै विशिष्टता भएपनि पछिल्लो समय आयुर्वेदका नाममा भ्रामक प्रचार गरिएकोमा गुनासो गरे । आधुनिक चिकित्साका विशेषज्ञहरुले आयुर्वेदलाई हेयका दृष्टिले हेर्ने गरेको गुनासो गरे । विभिन्न रोगहरुमा आयुर्वेदिक उपचारको विशिष्ट प्रभाव रहने भन्दै यसको उपयुक्त अध्ययन अनुसन्धानमा लगानी गर्न डा. उपाध्यायले मन्त्रीसमक्ष माग गरे । उपाध्यायले आयुर्वेदका प्रवर्तक धनवन्तरीलाई भगवान नभनेर वैज्ञानिक भन्नुपर्ने धारणा राखे ।
धनवन्तरी जयन्तीका अवसरमा आयोजित कार्यक्रममा आधुनिक चिकित्साका केही वरिष्ठ विशेषज्ञहरुले पनि आफ्नो धारणा राखे । वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तले आयुर्वेद लगायत विभिन्न वैकल्पिक चिकित्साका विधिहरु प्रभावकारी रहेको बताए । यद्यपी आयुर्वेद क्षेत्रमा प्रमाणका आधारमा भन्दा पनि विश्वासका आधारमा मात्र उपचार गर्ने गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे । डा. पन्तले आफ्नो अन्नपूर्ण न्यूरो अस्पतालमा आउने बिरामीलाई उपचारका लागि अकुपञ्चर विधि पनि प्रयोग गर्ने गरिएको र त्यसबाट बिरामी लाभान्वित भएको अध्ययनबाटै पुष्टि भएको बताए ।
अर्का चिकित्सक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले आयुर्वेद शरीरमैत्री उपचार विधि भएको भन्दै प्रशंसा गरे । आयुर्वेद, योग तथा पूर्वीय जीवनशैलीको अवलम्बन गर्दा मानिसको सर्वागिंण स्वास्थ्यमा सुधार आउने भन्दै उनले आधुनिक चिकित्सकहरुले पनि योग, आयुर्वेदलाई अवलम्बन गर्नुपर्ने सुझाव दिए । आफ्नोमा मुटुरोगको उपचार गराउन आउनेहरुलाई आफुले जीवनशैली र खानपान सुधार एवं योग अवलम्बन गर्न सुझाव दिने गरेको डा. रेग्मीले बताए ।
नरदेवी चिकित्सालयका निर्देशक डा. प्रदीप केसीले आयुर्वेद र यसको प्रवद्र्धन गर्ने संस्थालाई जोगाउनका लागि थप लगनशिलता र लगानी आवश्यक भएको बताए । नरदेवी चिकित्सालयमा उपचार र सेव ागर्न सक्ने समूह उपलब्ध भएपनि लगनशिलता र लगानी नपुगको उनको भनाइ छ । डा. केसीले सूचना व्यवस्थापन र उपचारको प्रभावकारिता सम्बन्धी अध्ययन गर्दे अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे । सो अवसरमा अस्पताल र विभिन्न ठाउँमा कार्यरत आयुर्वेदका चिकित्सक, सरोकारवाला उपस्थित थिए । आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत विभिन्न कर्मचारीहरुलाई सो अवसरमा सम्मान गरिएको थियो ।