सेती प्रादेशिक अस्पतालमा सुरक्षित प्रसव सेवा सुरु गरिने

डडेल्धुरा, ७ कात्तिक । कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा सुरक्षित प्रसव सेवा सुरु गरिने भएको छ । मातृ तथा शिशु स्वास्थ्यमा सुधार गरी नवजात शिशु मृत्युदर घटाउने उद्देश्यले सेती प्रादेशिक अस्पतालमा सुरक्षित प्रसव सेवा लागू गरिने भएको हो ।
यसअन्तर्गत स्वास्थ्य संस्थाको गुणस्तर वृद्धि, सारगर्भित मापन प्रक्रिया र अत्याधुनिक उपकरणको प्रयोग (सुसार) कार्यक्रम लागू हुने भएको हो । यो कार्यक्रममा तालिममार्फत् जनशक्तिको दक्षता अभिवृद्धिसँगै आवश्यक उपकरण प्रदान गरिने गोल्डेन कम्युनिटीले जनाएको छ । प्रसवका वेला बालमृत्युदर बढी हुने भएकाले कार्यक्रमअन्तर्गत प्रसव अवस्थादेखि शिशु जन्मिदासम्म निगरानीका साथै सेवा दिइने सुसार कार्यक्रमका सञ्चार विज्ञ सिर्जना शर्माले बताइन् ।
बाल मृत्युदरमध्ये एकतिहाइ बालबालिकाको मृत्यु नवजात अवस्थामा हुने भएकाले यो अवधिमा हेरविचार गर्न सके मृत्युदर ४० प्रतिशत घटाउन सकिने उनले बताइन् । कार्यक्रमअन्तर्गत अस्पताललाई दुईवटा उपकरण प्रदान गरिने बताइएको छ । महिलाको पेटमा बच्चा जीवित या मृत अवस्थामा के छ भनेर पत्ता लगाउने उपकरण र जन्मिसकेको बच्चाको धड्कन जाँच गर्ने उपकरण प्रदान गरिने शर्माले जानकारी दिइन् ।
दुई वर्षसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत संस्थाले आफ्नै खर्चमा अस्पतालको प्रसूति वार्डमा चारजना स्टाफ नर्स राख्ने र वार्डमा कार्यरतलाई तालिम प्रदान गर्ने धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा शर्माले बताइन्। स्वास्थ्य सेवा विभागका पूर्व्निर्देशक सुशीलकुमार प्याकुरेलले बालमृत्युदर घटाउन यो कार्यक्रम महत्वपूर्ण हुने बताए ।
बालमृत्युदरमध्ये दुईतिहाइ बालबालिकाको मृत्यु नवजात अवस्थामा हुने भएकाले यो अवस्थामा सतर्कता र रेखदेख आवश्यक पर्ने उनले बताएका छन् । स्वास्थ्य विभागको संलग्नतामा दुई वर्षअघि गरिएको एक सर्वेक्षणमा सेतीमा बालमृत्युदर प्रतिहजारमा २९ दशमलव ४ प्रतिशत छ । नेपालमा प्रतिहजारमा २१ प्रतिशत बालमृत्युदर छ ।
त्यसलाई ११ मा झार्ने सहश्राब्दी विकासअन्तर्गत सरकारको लक्ष्य छ । सुदूरपश्चिममा अर्को डडेल्धुरा अस्पतालमा यो कार्यक्रम लागू भएको छ । डडेल्धुरा अस्पताल र सेतीबाहेक देशभरका अन्य ६ वटा अस्पतालमा गत वैशाखबाट यो कार्यक्रम लागू भइसकेकोे छ ।