दरबन्दी अनुसारको चिकित्सकको माग गर्दै स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र
१२ जना चिकित्सक तत्काल पठाउने मन्त्री यादवको आश्वासन

डडेल्धुरा, ५ कात्तिक । दरबन्दी अनुसारको चिकित्सकको माग गर्दै डडेल्धुराको एक टोलिले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई ज्ञापन पत्र बुझाएको छ ।
डडेल्धुरा अस्पतालका लागि दरबन्दी अनुसारका चिकित्सक पठाइदिन जनप्रतिनिधिसहितको सर्वपक्षीय टोलीले मन्त्रीसमक्ष माग राखेका हुन् ।
मन्त्री यादवलाई भेट्न काठमाडौं पुगेको टोलीले अस्पतालमा चिकित्सक नहुँदा नागरिकहरु स्वास्थ्य सेवाबाट बञ्चित हुनु परेको गुनासो गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
डडेल्धुरामा प्रतिनिधिसभा सदस्य निरादेवी जैरुको नेतृत्वमा चिकित्सकको माग राख्न सर्वदलिय र सर्वपक्षिय समिति गठन भएको थियो । तर सोमबार जैरु उपस्थीत नभएकाले उक्त ज्ञापनपत्र सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लको नेतृत्वमा बुझाइएको हो ।
ज्ञापन पत्र बुझ्दै मन्त्री यादवले डडेल्धुरा अस्पतालका लागि तत्कालका लागि १२ जना चिकित्सक पठाइने आश्वासन दिए । जिल्ला सदरमुकाममा रहेको ‘डडेल्धुरा अस्पताल’ हाल एक जना चिकित्सकको भरमा सञ्चालन भइरहेको छ । दरबन्दी अनुसारका चिकित्सक नहुँदा आफैँ थला परेको हो । दरबन्दीअनुसारका चिकित्सक नपाइकनै नाम परिवर्तन गरी संघीय सरकारको मातहतमा रहेकोे अस्पताल कर्मचारी समायोजनको चपेटामा परेको हो ।
ज्ञापनपत्र बुझाउन सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल, अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझा, गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्ल, आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङ, उपाध्यक्ष जलादेवी बोगटी, नवदुर्गा गाउँपालिकाका उपाध्यक्ष डम्मरी ओली, भागेश्वर गाउँपालिकाका उपाध्यक्ष पदमबहादुर बोहरा, जिल्ला समन्वय समिति सदस्य रामचन्द्र अवस्थी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्ट, महासंघका पूर्व केन्द्रीय सदस्य छत्र साउद, अमरगढी नगरपालिका वडा नं ३ का अध्यक्ष गोविन्द बोहरालगायत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका थिए ।
यसअघि प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय सरकार प्रमुख, राजनैतिक दल, बार एसोसियसन, नागरिक समाज, पत्रकारलगायतले सम्मिलित समिति बनाइ अस्पतालमा रिक्त दरबन्दीपूर्ति र व्यवस्थापनका लागि सम्बन्धित निकायलाइ घचघचाउने प्रतिबद्धता जनाइएको थियो । सोही अनुसार जनप्रतिनिधिसहितको सर्वदलिय र सर्वपक्षीय टोली काठमाडौं पुगेको हो ।