चितवन मेडिकल कलेजमा झडप हुँदा ६ जना प्रहरी घाइते, ११ जना प्रदर्शनकारी नियन्त्रणमा

चितवन, ३ कात्तिक । चितवन मेडिकल कलेजमा भएको तोडफोडको क्रममा ६ जना प्रहरी घाइते भएका छन् । घाइते भएका सबै प्रहरीको उपचार मेडिकल कलेजमै भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ ।
उपचारको क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले आइतबार साँझ ४ बजे अस्पतालमा तोडफोड गरेका थिए । भिडलाई शान्त पार्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ६ जना प्रहरी घाइते भएको चितवन प्रहरीका डीएसपी एक नारायण कोइरालाले हाम्रो डाक्टरलाई बताए ।
डीएसपी कोइरालाले तोडफोडमा संग्लनमध्ये ११ जनालाई पक्राउ गरिएको बताए । तोडफोड नियन्त्रण गर्न प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको थियो । उनले केहिबेर अस्पतालमा तनाव उत्पन्न भएपनि अहिले प्रहरीले अस्पताल परिसरमा सुरक्षा दिरहेको बताए ।
नाकमा समस्या भएर अस्पताल ल्याइएकी नवलपरासीकी आशा ज्ञवालीको उपचारका क्रममा शनिबार मृत्यु भएपछि उनीहरुका आफन्तले अस्पतालको आईसीयू, सीसीयू, गेटलगायतका क्षेत्रमा तोडफोड गरेका हुन् ।
मृतकका आफन्तले अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै तोडफोड गरेका थिए । कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले झन्डै दुई सयको संख्यामा आएका आफन्तजनले अस्पतालमा मृतक पक्षबीच वार्ता चलिरहँदा तोडफोड गरिएको बताए ।