अभावै अभावको आहालमा देशको उत्कृष्ट अस्पताल

डडेल्धुरा, १ कात्तिक । भन्नलाई त देशकै उत्कृष्ट अस्पताल । त्यो पनि पाँचपटक प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लाको अस्पताल । तर, उपक्षेत्रीय अस्पताल डडेल्धुरा (हाल डडेल्धुरा)ले दिने सेवा र यहाँका संरचना बर्सेनि खस्किरहेको छ । तत्कालीन उपक्षेत्रीय अस्पतालले जति सेवा–सुविधा दिनुपर्ने हो, त्यति दिन सकिरहेको छैन । कर्मचारी अभाव, जीर्ण भौतिक संरचनाले गर्दा दिनुपर्नेजति सेवा दिन नसकेको हो ।
कहिले प्रदेश सरकार त कहिले संघीय सरकारमातहतमा राखिएका कारण अस्पताल नै अन्योलमा छ । अस्पताल प्रशासन नै अन्योलमा भएपछि सेवाग्राही सन्तुष्ट हुने कुरै भएन ।
सुदूरपश्चिमको सबैभन्दा ठूलो सेवा क्षेत्र रहेको अस्पतालको नाम पटकपटक फेरियो । तर, सेवा–सुविधामा अनुभूति हुने गरी सुधार देखिएको छैन । कहिले प्रदेश त कहिले संघीय सरकारमातहत राख्दा अन्योलमा परेको अस्पताललाई अहिले संघीय सरकारमातहत राखिएको छ ।
संघीयता लागू भएलगत्तै प्रदेशमातहत राखिएको अस्पताललाई अहिले संघीय सरकारमातहत राखिएको छ । तर, अहिले अस्पताल झन् अस्तव्यस्त बनेको सेवाग्राही आकाश गुरुङको गुनासो छ । ‘यहाँको सेवा खस्किँदै गएको छ,’ उनले भने, ‘प्रदेश, संघमातहतमा गइरहँदा सेवा खस्कियो ।’ सुदूरपश्चिमका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले डडेल्धुरा जिल्ला सदरमुकाममा ०७० मा उपक्षेत्रीय अस्पताल स्थापना भएको थियो । अस्पतालले १ असार ०७० बाट सेवा शुभारम्भ गरेको थियो ।
कसरी भयो उपक्षेत्रीय अस्पताल ?
उपक्षेत्रीय हुनुअघि पहिले टिम अस्पतालका रूपमा परिचित हालको डडेल्धुरा अस्पतालमार्फत सेवा प्रदान गर्ने उद्देश्यले ०२२ सालमा स्थापना गरिएको हो । यहाँका स्थानीय, राजनीतिक दलका नेताहरूको पहलमा त्यतिवेलाको टिम अस्पताललाई सरकारले उपक्षेत्रीय अस्पताल घोषणा ग¥यो । तत्कालीन उपक्षेत्रीय अस्पताल सय शय्याको थियो । त्यतिबेला अस्पतालमा एक सय नौजना कर्मचारीको दरबन्दी स्वीकृत भएको थियो । जसमा २० जना मेडिकल अफिसर र १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी थियो ।
उपक्षेत्रीय अस्पताल ः संघ र प्रदेशको गोलचक्करमा
तत्कालीन उपक्षेत्रीय अस्पताल संघीय सरकारमातहतमा थियो । देश संघीय संरचनामा गएसँगै यो अस्पताल पनि प्रदेशमातहतमा आयो । ६ वर्षअघि स्तरोन्नति भएको उपक्षेत्रीय अस्पताल गत असारमा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने भनेर परिपत्र आयो । सोहीअनुसार अस्पतालले सेवा प्रवाह गरिरहेको पनि थियो । अहिलेसम्म पनि प्रदेश सरकारले दिएको बजेटले चलिरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले बताए । फागुनयता केन्द्र सरकारले थप सेवा विस्तार र मेसिन औजार खरिदका लागि बजेट नपठाएको उनले जानकारी दिए ।
मन्त्रिपरिषद्को ३ फागुन ०७५ को निर्णयअनुसार डडेल्धुरास्थित उपक्षेत्रीय अस्ताललाई विशेषज्ञसहितको सुविधा प्रदान गर्ने गरी स्तरोन्नति गरिनेछ । योसँगै मोरङको कोसी अञ्चल अस्पताल, पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, चितवनको भरतपुर अस्पताल, बाँकेको भेरी अञ्चल अस्पताललाई ‘विशिष्ट विशेषज्ञ अस्पताल’का रूपमा स्तरोन्नति गर्ने निर्णय सरकारले गरेको थियो ।
स्तरोन्नति भएपछि अब सबै पाँचवटा अस्पतालमा विभिन्न रोगका विशेषज्ञसहितका चिकित्सक र सेवा–सुविधा संघीय सरकारले उपलब्ध गराउनेछ । केन्द्रीय सरकारबाटै सबै अस्पतालमा पाँच सय शय्याको सेवा–सुविधा प्राप्त हुनेछ । मन्त्रिपरिषद्को निर्णयअनुसार डडेल्धुरामा रहेको उपक्षेत्रीय अस्पतालको नाम परिवर्तन गरी ‘डडेल्धुरा अस्पताल, डडेल्धुरा’ बनाइएको छ ।
विशेषज्ञ चिकित्सक दरबन्दी २०, पदपूर्ति शून्य
यस अस्पतालमा २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । तर, अहिले अस्पतालमा छात्रवृत्ति करारबाट एक र अस्पताल विकास समितिबाट दुई गरी करारमा तीन विशेषज्ञ चिकित्सक रहेको डा. कँडेलले जानकारी दिए ।
यस्तै अस्पतालमा १९ जना मेडिकल अफिसरको दबन्दी रहेकोमा हालसम्म नौजना सरकारका तर्फबाट र एकजना करारमा गरी जम्मा १० जना थिए । त्यसमध्ये पनि ६ जना अध्ययन तथा असाधारण बिदामा रहेको अस्पतालले जानकारी दिएको छ । त्यसमाथि समायोजनपछि अस्पतालमा अहिले दुईजना विशेषज्ञ चिकित्सक र दुईजना मेडिकल अफिसर गरी चारजना मात्रै चिकित्सक छन् ।
३० जना स्टाफ नर्सको दरबन्दी रहेकोमा १३ जना मात्र कार्यरत छन् । १७ जनाको पद रिक्त छ । १३ जनामध्ये पनि ६ जना अध्ययन तथा असाधारण बिदामा छन् । अस्पतालमा अहिले १० जना स्टाफ नर्स करारमा कार्यरत छन् ।
अन्य प्राविधिक स्वास्थ्यकर्मी पनि अभाव रहेको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तको भनाइ छ । ‘यहाँ भएको जनशक्ति गएको धेरै महिना भइसकेको छ । मन्त्रालय वा विभागबाट थप जनशक्ति पठाइएको छैन,’ उनले भने ।
कर्मचारी समायोजनले यहाँका चिकित्सक सरुवा भएको, तर आउनुपर्ने कोही नआएको मेसु डाक्टर जितेन्द्र कँडेलले बताए । ‘न लोकसेवा खुलेको छ, न प्रदेशले पठाउँछ, न विभागले,’ उनले भने, ‘यहाँका १४ जना कर्मचारी सरुवा गर्दा एकजना मात्रै पठायो, त्यसमै पनि विभेद भयो ।’
डडेल्धुरा अस्पतालमा अहिले नेपाल सरकारबाट एक सय आठजनाको दरबन्दी स्वीकृत भएकोमा ३७ जनाको मात्र पदपूर्ति हुँदा ७१ जनाको पद रिक्त रहेको छ । यस्तै अस्पताल विकास समितिबाट ४२ जनाको पद स्वीकृत हुपर्नेमा ३४ जनाको पदपूर्ति भई आठजनाको पद रिक्त रहेको छ । अस्पतालमा अहिले अन्य कर्मचारी भनेर करारमा ४५ जना र ज्यालादारीमा सातजना कर्मचारी कार्यरत छन ।
चुहिने छानोमुनि सेवा
उपक्षेत्रीय अस्पताल घोषणा गरेको ६ वर्ष पुग्दासमेत अस्पतालसँग स्तरीय भवन छैन । अस्पताल भवनको छाना चुहिने गरेको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए । ‘अस्पताल सय शय्याको भए पनि सय शय्या अट्ने भवन छैन,’ पन्तले भने, ‘पुरानै भवनबाट सेवा दिइरहेका छौँ ।’ वर्षायाममा जस्ताको छानाबाट पानी चुहिने उनको भनाइ छ ।
अस्पतालले ओपिडी, इमर्जेन्सीलगायत सेवा जस्तापाताले छाएको भवनबाट प्रदान गरिरहेको छ । ल्याब, एक्सरे तथा एनआइसियूको अवस्था पनि उस्तै रहेको उनले जानकारी दिए । यद्यपि, सय शय्याको भवन निर्माण प्रक्रिया अघि बढिरहेको उनले बताए ।
उपचार निजीको भरमा
बैतडीकी कलावती भट्ट गर्भवती जाँच गर्न गत साता डडेल्धुरा आइन् । तर, उनी डडेल्धुरा अस्पतालमा नगएर अस्पतालनजिकैको निजी क्लिनिकमा गइन् । डडेल्धुरा अस्पतालमा झन्झट हुने भन्दै निजी क्लिनिक गएको उनले बताइन् । यस्तै सोही क्लिनिकको बेडमा रहेका उपेन्द्र पाण्डे भन्छन्, ‘बिरामी भएर डडेल्धुरा अस्पतालमा गएँ, तर त्यहाँ कुनै रेस्पोन्स नै भएन । धेरै समय बस्दासमेत उपचार पाइएन । कर्मचारीको रुखो व्यवहार देखेर यहाँ आएँ ।’
डडेल्धुरा–अमरगढी नगरपालिकाकी दिलमाया गुरुङको पित्तथैलीमा पत्थरी छ । डडेल्धुरामा उपचार सम्भव नभएका कारण उनी कैलालीको एक निजी अस्पताल माया मेट्रोमा गइन् ।
यसरी डडेल्धुरा अस्पतालको अवस्था दयनीय बनेपछि डडेल्धुरासहित पहाडी जिल्लाबाट आउने बिरामी निजी अस्पतालको भरमा छन् ।
अस्पताल पुग्ने सडक पनि उस्तै
डडेल्धुरा सदरमुकामको तुफाडाँडा चोकदेखि डडेल्धुरा अस्पतालसम्मको सडकको हालत खराब छ । लगभग पाँच सय मिटरको सडकमा अत्यधिक खाल्डाखुल्डी छ । वर्षात्को समयमा सडक हिलाम्मे हुँदा बिरामीलाई अस्पताल पुग्नै मुस्किल छ । ‘एकदमै हिलो हुन्छ बिरामी भएका बेला त्यहाँबाट जानै सकिँदैन,’ स्थानीय सुनील तामाङले भने, ‘लडेर चोटपटक लाग्ने जोखिम देख्दादेख्दै स्थानीय निकाय किन कानमा तेल हालेर बसेको छ ?’
सोही सडकखण्डमा व्यापारीका गोदामसमेत रहेकाले सडक नै अवरोध हुने गरेर ट्रक रोकिराखेको हुन्छ । अनलोड गरिरहेका बेला सडक बन्द हुने हुँदा बिरामी ल्याउन–लैजान समस्या हुने गरेको डडेल्धुरा अस्पतालका एम्बुलेन्सचालक पुष्पराज पाठक बताउँछन् । ‘इमर्जेन्सीमा बिरामी बोकेको हुन्छु । कुन दिन जाममा परेर अथवा खाल्डोले झट्का दिँदा बिरामीको ज्यानै जाने हो कि भनेर डर लाग्छ,’ उनले भने ।