पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीजीको पढाई हुने, पहिलो चरणमा १७ सिट

पूर्व स्वास्थ्यमन्त्री अधिकारीले भनेः निजी कलेजले रोक्न खोजेपनि हामी सफल भयौं



Download our app to get more features

पोखरा, १६ असोज । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ महिना पछि चिकित्सा शास्त्रको स्नातकोत्तर (पोष्ट ग्रयाजुयट)को पढाई हुने भएको छ । अस्पतालमा बिहीवार आयोजित दशैं शुभकामना आदानप्रदान कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा.बुद्धि बहादुर थापाले यसबारे जानकारी गराएका हुन् ।  

सोल्जर बोर्ड अस्पतालको नामबाट स्थापना भएको अस्पताल गण्डकी अञ्चल अस्पताल, पश्चिमाञ्चल क्षेत्रिय अस्पताल हुँदै पोखरा विज्ञान प्रतिष्ठानमा विकसित भएको छ । 
चिकित्सा शिक्षा आयोगको गत असोज १ गते बसेको बैठकले प्रतिष्ठानका लागि १७ सिट स्वीकृत गरेको थियो । सोही अनुरुप आयोगको कार्यकारी समितिले असोज १० गते निर्णय गर्दे जनरल सर्जरीमा ४ ,प्रसुती तथा स्त्रीरोगमा ४ , हाडजोर्नीमा ३ , जनरल मडिसिनमा २ ,बालरोगमा २ र एनेस्थेसियोलोजीमा २ जना गरि १७ सिट स्वीकृत गरेको हो ।
अस्पतालले क्यान्सर जाँचका लागि रेडियोथेरापी सेवा सहित पेट र कलेजोका बिरामीको बिशिष्टकृत उपचार सहज बनाउन छुट्टै ग्यास्ट्रो र हेपाटोलोजी एवं नेफ्रोलोजी युनिट बनाउने पनि उपकुलपति थापाले जानकारी दिए ।  पोखरास्थित रोटरी क्लबको सहयोगमा मुटु सम्बन्धी जाँचको लागि क्याथल्याब मेसिन खरिदका लागि पनि आवश्यक सम्झौता भई प्रकृया अगाडि बढेको उनले बताए ।  

कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री एवं सांसद खगराज अधिकारीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीजीको पढाई हुन नदिन पोखराका दुईटा मेडिकल कलेजले भूमिका खेलेको आरोप लगाए । उनले थपे, ‘अवरोधका बाबजुदपनि हामी निरन्तर लागिरह्यौं र सफल भयौं ।’ 

कार्यक्रममा प्रतिष्ठानका सिनेटर आनन्दराज मुल्मीले प्रदेशकै ठुलो अस्पतालमा क्षेत्रका जनतालाई चाहिएका निम्न स्तरका बीमा स्वास्थ्य सेवा राम्रोसँग उपलब्ध गराउन नसकेको बताए । उनले भने, ‘ओपिडी  सेवा गर्व गर्न लायकको छैन , औषधि वितरणको अवस्था पनि त्यस्तै नाजुक छ । यी हाम्रा कमजोरीलाई  स्वीकार गर्दा हामीलाई हिनताबोध हुँदैन, तर सुधार नगरी सुखै छैन ।’ 

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, टेकनाथ बराल,कांगे्रसका कास्की जिल्ला  सभापति कृष्ण केसी लगायतले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गर्व गर्न लायकको बनाउन सबै एकजुट हुनपर्ने धारणा राखे । 

Last modified on 2019-10-04 08:51:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts