औषधि उत्पादक संघको अध्यक्षमा पाण्डे र क्षेत्रीको दावेदारी

काठमाडौं, १६ असोज । आगामी २९ असोजमा हुने नेपाल औषधि उत्पादक संघ (एप्पोन) को नयाँ नेतृत्व चयनका लागि दुई जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । चुनावमा एप्पोनका महासचिव प्रज्वलजंग पाण्डे र वरिष्ठ उपाध्यक्ष जी नारायण बहादुर क्षेत्रीले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
विगत चार कार्यकालदेखि एप्पोनमा सहमतिका आधारमा नेतृत्व चयन हुँदै आएको छ । एप्पोन कार्यसमितिको कार्यकाल दुई वर्ष हुन्छ ।
तीन/चार पटक कार्यसमितिमा रहेका क्षेत्रीले सहसचिव, महासचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।
यस्तै पाण्डे पनि सदस्य, कोषाध्यक्ष र महासचिव भइसकेका छन् । केही वर्षदेखि पाण्डे निरन्तर रुपमा एप्पोनको विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन् ।
उम्मेदवारी दिने घोषणा गरेका दुबै जनाले आ–आफ्नो एजेन्डा सार्वजनिक गरेका छन् ।
उपाध्यक्ष क्षेत्री रोलक्रम अनुसार अध्यक्षको हकदार रहेको बताउँछन् भने पाण्डेले औषधि उद्योगको विकासमा महत्वपूर्ण योगदान गरेको दावी गर्दै आएका छन् ।
पाण्डे लोमस फर्मास्युटिकल्समा आबद्ध छन् भने क्षेत्री टाइम्स फर्मास्युटिकल्समा आबद्ध छन् । दुबैको चुनावी एजेन्डा भने उस्तै छ ।
संगठनलाई अझै मजबुद बनाउँछु: महासचिव पाण्डे
अध्यक्षका दावेदार पाण्डेले आफूले जित हासिल गरे व्यवसायीक हकहितका लागि खोलिएको संगठनलाई अझै मजबुद बनाउने बताए ।
२० वर्षदेखि औषधि उद्योगमा आबद्ध पाण्डेले निर्वाचनबाट विजयी भए अन्तराष्ट्रियस्तरको औषधि उद्योग विकास गर्ने बताए ।
उनले देश र जनतालाई आवश्यक पर्ने उच्च गुणस्तरीय औषधि नेपालमै बनाउन सक्छौं भन्ने विश्वासनियता कायम गर्नु अर्को एजेन्डा रहेको बताए ।
नेपालमा औषधि उद्योग चाहिन्छ भन्ने मान्यता स्थापित गर्न आफूले उम्मेद्वारी दिएको महासचिव पाण्डेले बताए ।
सरकारले पनि आधारभूत रुपमा औषधि उद्योग संरक्षण गर्छु भनेर प्राथमिकतामा राखेको हुँदा सोही अवधारणलाई अघि सारेर काम गर्ने उनको भनाइ छ ।
योसँगै औषधिमा नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्य लिएर अगाडि बढ्ने पाण्डेले बताए ।
उनले भने, ‘औषधिमा नेपाल आत्मनिर्भर हुनसक्छ भन्ने आत्मविश्वास कम छ, यो विश्वासलाई बढाउनुपर्छ र औषधि उत्पादनमा प्रवद्र्धन गर्नुपर्छ ।’
औषधिमा आत्मनिर्भर बन्न मेरो उम्मेदवारीः वरिष्ठ उपाध्यक्ष क्षेत्री
एप्पोनका वरिष्ठ उपाध्यक्ष क्षेत्रीको चुनावी एजेन्डा पनि पाण्डेको भन्दा भिन्न छैन । औषधि उत्पादक क्षेत्रमा २२ वर्ष लामो अनुभव बटुलिसकेका वरिष्ठ उपाध्यक्ष क्षेत्रीले अध्यक्षमा विजयी भए औषधि उत्पादन क्षेत्रको विकासमा राम्रो योगदान गर्ने बताए ।
उनले पनि मुख्य एजेन्डाका रुपमा नेपाललाई औषधिमा आत्मनिर्भर बनाउने, वैदेशीक घाटालाई कम गर्ने र राष्ट्रलाई समृद्धिमा लैजान औषधि क्षेत्रलाई स्तरोन्नती गर्ने विषय समावेस गरेका छन् । उनले भने ‘जबसम्म औषधिको क्षेत्रमा विकास हुन सक्दैन तबसम्म देशको समृद्धि सम्भवाना छैन ।
उनले औषधिको क्षेत्रमा उद्योगी मात्रै लागेर नहुने र यसमा सरकारको भूमिका पनि उत्तिकै हुने बताए ।
उनले थपे, ‘राज्यले सही नीति निर्माण गरेर औषधि उद्योगको विकास र प्रोत्सहान गर्नुपर्छ ।’
छिमेकी देशहरु भारत, बंगलादेश लगायतले औषधि उत्पादनमा फड्को मारिसकेको तर उनीहरुको दाजोमा नेपाल निकै कम्जोर रहेको उनले बताए । उनले भने, ‘सोहीकारण यसमा विशेष रुपमा ध्यान दिएर लाग्नुपर्छ ।’
दुई–तीन वर्षमै ८०–९० प्रतिशत औषधिमा आत्मनिर्भर हुनसक्छौं भन्ने लक्ष्य बोकेर काम गर्ने वरिष्ठ उपाध्यक्ष क्षेत्रीले बताए ।