सुदूरपश्चिमै पहिलो अक्सिजन ग्यास उद्योग सञ्चालनमा, दैनिक २ सय सिलिन्डर उत्पादन हुने

डडेल्धुरा, १६ असोज । सुदूरपश्चिमै पहिलो अक्सिजन ग्यास उद्योग सञ्चालनमा आएको छ । कैलालीको धनगढीस्थित पुनारो भन्सार रोडमा अक्सिजन ग्यास उद्योग सञ्चालनमा आएको हो ।
दैनिक दुई सय सिलिन्डर उत्पादन गर्ने क्षमता भएको उद्योग व्यवसायी हिक्मत शाहले सञ्चालनमा ल्याएका हुन् । झण्डै ५ करोडको लागतमा मालिका अक्सिजन ग्यास उद्योग धनगढीमा सञ्चालनमा आएको उनले बताए । ‘भविष्यमा उत्पादन क्षमता क्रमशः वृद्धि गदै लैजानेछौं’ उनले भने । दमका बिरामी, आईसीयूमा राखिएका बिरामी तथा निर्माण कार्यमा अक्सिजन ग्याँसको प्रयोग हुने उनले बताए ।
‘यहाँ भारतबाट अक्सिजन सिलिन्डर ल्याउनपर्ने बाध्यता देखेर उद्योग सञ्चालन गरेको हुँ ।’ उनले भने ‘अक्सिजन ग्याँस उद्योग सञ्चालनका लागि १० महिना सम्म अध्ययन गरिएको छ र उपकरण खरिदका लागि झण्डै ६ महिनानै लाग्यो ।’
उत्पादन भएको अक्सिजन बजारमा पठाउन सुरु भईसकेको र उत्पादन भएको ग्यासले सुदूरपश्चिममा मागको १५ प्रतिशत धान्ने देखिएको सञ्चालक हिक्मत शाहले बताए ।
उद्योगले अहिले कैलालीको टिकापुर, लम्की, सुख्खड र अत्तरिया तथा कञ्चनपुरको महेन्द्रनगरमा आधिकारीक विक्रेता समेत तोकिसकेको छ ।