प्रदेश सरकारले किनेका ‘अत्याधुनिक एम्बुलेन्स’ थन्किए



Download our app to get more features

डडेल्धुरा, १४ असोज । सुदूरपश्चिम प्रदेश सरकारले ७ पहाडी जिल्लाका लागि खरिद गरेको ‘अत्याधुनिक एम्बुलेन्स’ थन्किएका छन । सरकारले दुुई महिना अघि मात्रै अत्याधुनिक एम्बुलेन्स खरिद गरेको थियो ।

प्रदेशको सामाजिक मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा एम्बुलेन्स खरिदका लागि ६ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको थियो । सोहि बजेटबाट मन्त्रालयले १६ निर्वाचन क्षेत्रका लागि सवा ६ करोड मुल्य पर्ने १६ वटा अत्याधुनिक एम्बुलेन्स खरिद गरेको थियो ।

खरिद गरिएका एम्बुलेन्स सुरुमा १६ निर्वाचन क्षेत्रमा एउटा एउटा वितरण गर्ने योजना भएको तर हाल आएर धेरैतिरबाट माग आएपछि अलमल भएकाले वितरणमा ढिलाइ भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले सुरुमा बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र र टाटे स्वास्थ्य चौकी, दार्चुलाको हिकिला र खार, बैतडीको रुद्रेश्वर र कुलाउ, बझाङको मटेला र रायल, डडेल्धुराको भागेश्वर र नवदुर्गा स्वास्थ्य चौकी, डोटीमा जिल्ला अस्पताल र चवराचौतारा स्वास्थ्य चौकी, अछामको जिल्ला अस्पताल, बाब्ला स्वास्थ्य चौकी, बान्नीगढी र विनायक स्वास्थ्य चौकीलाई वितरण गर्ने सूची बनाएको थियो ।

यी मध्येका ६ स्वास्थ्य संस्थाको नाम हटाएर सेती प्रादेशिक अस्पताल, प्राथमिक स्वस्थ्य केन्द्र कमलबजार अछाम, जोगबुडा अस्पताल डडेल्धुरा, जिल्ला अस्पताल दार्चुला, बैतडी र बझाङ राखिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार हिकिला स्वास्थ्य चौकी दार्चुला, कुलाउ स्वस्थ्य चौकी बैतडी, मटेला स्वास्थ्य चौकी बझाङ, भागेश्वर स्वस्थ्य चौकी डडेल्धुरा, विनायक पञ्चदेवल अछाम तथा कोल्टी प्रथामिक स्वास्थ्य केन्द्र बाजुराको नाम हटाइएको छ ।

निर्वाचन क्षेत्रमा दिने भन्ने योजनाअनुसार खरिद भएका तर त्यसो गर्दा प्रभावकारी सञ्चालनमा कठिनाइ हुन सक्ने देखिएकाले निर्णय गर्न ढिलाइ भएको मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए । ‘अब चाडै निर्णय गरेर वितरण गर्छौ’ उनले भने । ३९ लाखका दरले ‘बी ग्रेड’ का एम्बुलेन्स संघको अर्थ मन्त्रालयको सिफारिसमा भन्सार छुटमा ल्याइएको खड्काले बताए ।

Last modified on 2019-10-02 09:28:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts