गेटा मेडिकल कलेजको भौतिक निर्माण कार्य तिव्र, एक वर्षपछि ‘एमबीबीएस’को पढाई सञ्चालनमा ल्याउने तयारी

डडेल्धुरा, १३ असोज । कैलालीको गोदावरी नगरपालिका– ५ गेटामा निर्माणाधिन गेटा मेडिकल कलेजको भौतिक संरचना निर्माणको कामले तिव्रता पाएको छ । निर्धारीत समयमै सक्ने गरी भौतिक पुर्वाधार निर्माणको काम भईरहेको गेटा मेडिकल कलेज पुर्वाधार निर्माण विकास समितिले जनाएको छ ।
आर्थिक वर्ष २०७३/०७४ देखि विभिन्न ७ वटा प्याकेजमा निर्माण कार्य सुरु गरिएको मेडिकल कलेजको भौतिक संरचना निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको समितीले जनाएको छ । आर्थिक वर्ष २०७३/७४ देखि निर्माण कार्य थालिएको उक्त कलेजमा २०७७ सालबाट अध्यापन कार्य सुरु गर्नेगरी निर्माणको कामलाई तिव्रता दिइएको गेटा मेडिकल कलेज पुर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भिम बहादुर साउँदले बताए ।
‘लुम्बिनी रमण केएस जेभीसंग २ वर्ष अगाडी ठेक्का सम्झौता भएको मेडिकल कलेजको न्युनतम संरचना निर्माणको काम ८० प्रतिशत पुरा भैसकेको छ’ उनले भने ‘तिन वटा प्याकेजमा योजना बनाएर निर्माण भइरहेको कलेजको भवनको भित्रको सबै काम पुरा भसकेको र अब थोरै काम मात्रै बाकिँ रहेको छ ।’ २ वर्षको निर्माणअवधि रहेको कलेजको अस्पताल भवन निर्माणको काम पनि ७५ प्रतिशत सम्पन्न भएको उनले बताए । ६ सय शैया रहनेगरी कुमार श्रेष्ठ निर्माण सेवाले २ वटा प्याकेजमा अस्पताल भवन निर्माणको काम गरिरहेको कार्यकारी निर्देशक साउँदले बताए ।
गेटा मेडिकल कलेजमा हालसम्म साना ठूला गरी २७ वटा भौतिक संरचनाको निर्माण कार्य भइरहेको छ । तीन÷तीन सय गरी दुवै अस्पतालको भवनमा ६ सय शैयाको रहने छ । यस्तै कलेजको छात्रवास भवन निर्माणको जिम्मा पाएको लुम्वीनी रमण केएस जेभीले पनि अहिले ७० प्रतिशत काम सकिसकेको छ । यस्तै प्रशासनिक भवन, मेडिकल अफिसरहरुका क्वाटरहरुको निर्माण तर्फ ४० प्रतिशत काम सम्पन्न भएको बताइएको छ । यसैगरी मेडिकल कलेजलाई आवश्यक पर्ने शव घर, इलेक्ट्रिकल हाउस, सवारीसाधन पकिंङ स्थलको निर्माण कार्य पनि ४५ प्रतिशत पुरा भैसकेको निर्देशक साउँदले जानकारी दिए । आर्थिक वर्ष २०८०/०८१ सम्म गेटा मेडिकल कलेजको आवश्यक सम्पूर्ण पूर्वाधार तयार हुने गुरुयोजना बनाइएको छ ।
१ वर्षपछि ‘एमबीबीएस’को पढाई सञ्चालनमा ल्याउने तयारी
अबको १ वर्षपछि एमबीबीएसको पढाई सञ्चालनमा ल्याउने उद्देश्य सहित सुरु भएको गेटा मेडिकल कलेजमा पुर्वाधार निर्माणको कामले तिव्रता पाएको छ । अझै १२/१३ महिना बाकिँ रहेकाले अहिले सम्मको प्रगति सन्तोषजन नै रहेको गेटा मेडिकल कलेज पुर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भिम बहादुर साउँदले बताए ।
नेपाल सरकारले आर्थिक वर्ष २०६६/०६७ मा कैलालीको गेटामा मेडिकल कलेज बनाउने घोषणा गरेको थियो । उनले भने–‘अब अध्यापन सुरु गर्नलागि केहि कानुनी जटिलता रहेको भएपनि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कलेज संचालनका लागि ढाचाँ बनाएर संघिय सदनमा विधेयक पेश गरिसकेको छ । त्यो विधेयक पास भएपछी मेडिकल कलेज सञ्चालनको प्रकृया अगाडी बढ्ने छ ।’
समग्र सुदुरपश्चिम प्रदेशको समृद्धिसंग जोड्नेगरी निमार्ण भइरहेको उक्त मेडिकल कलेज सञ्चालनमा आएमा प्रदेशको स्वास्थ्य क्षेत्रमा ठूलो टेवा पुग्ने प्रदेशवासीको अपेक्षा रहेको छ । यहाँ हालसम्म एउटा पनि मेडिकल कलेज नहुँदा सम्पुर्ण सुदूरपश्चिमका विद्यार्थीले अध्ययन गर्न अन्य जिल्ला तथा भारत धाउनुपर्ने बाध्यता रहेको छ । त्यस्तै यहाँका बिरामीरुले पनि उपचारका लागी बाहिर जानुपर्दा सास्ती खेपिरहेका छन ।