सञ्जीव–एकता शिशु प्रकरणः ग्रान्डी इन्टरनेशनल अस्पताल दोषी भएको एनएमसीको ठहर

अस्पतालले आचारसंहिता विपरीतको कार्य



Download our app to get more features

काठमाडौं, १३ असोज । नेपाल मेडिकल काउन्सिलले सञ्जीव न्यौपाने र एकता घिमिरेको शिशुको उपचारमा ग्रान्डी इन्टरनेशनल अस्पताल दोषी भएको ठहर गरेको छ ।  

काउन्सिलद्वारा गठित छानविन समितिले उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनको कमजोरी भेटिएको प्रतिवेदनमा जनाएको छ ।

२०७५ असार १२ गते एकताको शल्यक्रिया गरी ग्राण्डी अस्पतालमा बच्चा जन्मिएको थियो । बच्चा जन्मेको आधा घन्टामै एनआईसीयूमा राखिएको थियो । पछि बच्चाको टाउकोमा ब्याक्टेरियाको संक्रमण भएर टाउकोमा ५ पटकसम्म अपरेशन गरिएको थियो । उपचारको क्रममा लापरबाही भएको भन्दै एकताका श्रीमान सञ्जीवले मेडिकल काउन्सिलमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा काउन्सिलले छानविन गर्दा मानवीय संवेदनशीलता र सावधानी नअपनाउनुको साथै अस्पतालले आचारसंहिता विपरीतको कार्य गरेको ठहर गरेको हो ।

‘अल्ट्रा साउन्ड’ गर्दा बच्चाको मस्तिष्कमा देखिएको ‘हाइड्रोसेफालस’को आकारबारे ‘रेडियोलोजिस्ट’ र ‘न्युरो सर्जन’ को बुझाइमा फरक देखिएको काउन्सिलको छानविनको निष्कर्ष छ । साथै अस्पतालले यसबारे बिरामी पक्षलाई राम्ररी नबुझाइएको काउन्सिलले ठहर गरेको छ ।

त्यस्तै मस्तिष्कको ‘अल्ट्रासाउन्ड’पछि ‘रेडियोलोजिस्ट’को सुझावअनुसार सिटी स्क्यान र एमआरआई गर्न ढिलाइ भएकोसमेत काउन्सिलको निष्कर्ष छ ।

डा. गणेश राई नेतृत्वको विज्ञ समूहले उक्त घटना अध्ययन गरी प्रतिवेदन प्रस्तुत गरेको हो । सोही आधारमा काउन्सिलले उपचारमा संलग्न, न्युरो शल्य चिकित्सक एवं बालरोगसँग सम्बन्धित चिकित्सक टिम, स्वास्थ्यकर्मीहरु र अस्पताल व्यवस्थापन समेतलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको प्रतिवेदनमा जनाइएको छ ।

काउन्सिलमा उजुरी गर्दा बिरामी पक्षले पारासिटामोलको ओभरडोज भएको दावी गरेका थिए । काउन्सिलको छानविनले त्यो दावीलाई पनि सही भनेको छ ।
 

Last modified on 2019-10-01 06:24:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts