बैतडीमा डेंगुका बिरामी बढ्दै

डडेल्धुरा, १२ असोज । बैतडीमा डेंगु रोगका बिरामी बढ्दै गएका छन् । जिल्ला अस्पताल बैतडीमा उपचारका लागि पुगेका ज्वरोका बिरामी मध्ये तीनजनामा डेंगु संक्रमण भेटिएको पुष्टी भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवनप्रसाद जोशीले जानकारी दिए ।
जिल्ला अस्पातलमा डेंगु देखिएका तिनै जना बिरामी दशरथचन्द नगरपालिका वडा नं १० का रहेका छन् । दुईजनाको जिल्ला अस्पतालमै उपचार गरिएको र एकजनाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि अन्यत्र रेफर गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिएका छन् ।
यो संगै बैतडीमा ६ जनामा डेंगुको संक्रमण देखिएको छ । तीनजनामा जिल्ला बाहिरका अस्पतालमा जाँच गर्दा डेंगु देखिएको हो । डेंगु लामाखुट्टेको टोकाइबाट हुने भएकाले यो रोगबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा उनले जोड दिएका छन् ।
पछिल्लो समयमा पहाडी क्षेत्रहरुमा लामखुट्टे भएकाले लामखुट्टेका कारण हुने डेंगु मलेरिया लगायतका रोगका बिरामीहरु बढ्दै गएका उनले बताएका छन् । डेंगुबाट बच्नका लागि आफ्नो वरीपरीको वातावरण सफा राख्ने, पानी जम्ने खाल्डाखुल्डी पुनुपर्ने, सुत्दाखेरी झुलको प्रयोग गरेर सुत्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।
स्क्रब टाइफस परिक्षण किट उपलब्ध
बैतडीको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताल बैतडीलाई स्क्रब टाइफस परिक्षण किट उपलब्ध गराएको छ । देशैभरी स्क्रब टाइफसका बिरामी फेला परेकाले स्क्रब टाइफस रोग परीक्षणमा सहयोग पुर्याउने हेतुले कीट उपलब्ध गराएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिएका छन् ।
अस्पताललाई २५ ओटा कीट उपलब्ध गराएको उनले बताएका छन् । मुसाको शरीरमा हुने माइट नामक जीवाणुको टोकाइबाट हुने स्क्रब टाइफसको संक्रमण हुने गर्दछ । दशरथचन्द नगरपालिकाले किट उपलब्ध गराएपश्चात जिल्लामै रोग पत्ता लगाउन सजिलो भएको अस्पतालले जनाएको छ ।
मुसाको शरीरमा हुने माइटबाट सर्ने यो रोग लागेमा ज्वरो आउने, शरीरमा राता डाबर हुने लगायतका लक्षण देखा पर्ने गरेका छन् । डडेल्धुरामा अस्पतालमा चेकजाँच गराएका मध्ये बैतडीका २४ जनामा स्क्रब टाइफस देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसअघि पनि दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताललाई ४५ वटा डेंगु परीक्षण कीट उपलब्ध गराएको थियो । यसका साथै नगरपालिकाले स्क्रब टाइफस र डेंगुवाट बच्नको लागी विभिन्न समेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिरहेको छ ।