कानुनी गर्भपतन सेवाबारे ४१ प्रतिशत महिलामात्र जानकार, ७ प्रतिशत मातृमृत्यु असुरक्षित गर्भपतनका कारण



Download our app to get more features

काठमाडौं, १० असोज । नेपालमा गर्भपतनले कानूनी मान्यता पाएको जानकारी ४१ प्रतिशत महिलालाई मात्र रहेको पाइएको छ । सरकारले गर्भपतन गराउने कानुनी मान्यता दिएको वर्षौं बितिसक्दा पनि यसबारे सबैलाई जानकारी छैन । असुरक्षित गर्भपतन मातृमृत्यु गराउने चारवटा मुख्य कारणहरु मध्ये एक हो । परिवार कल्याण महाशाखाका अनुसार नेपालका ४८ प्रतिशत प्रजनन उमेरका महिलालाई मात्र सुरक्षित गर्भपतन गर्न पाइने ठाँउको बारेमा जानकारी छ । असुरक्षित गर्भपतन गर्ने महिलाको संख्या अझै बढि ५८ प्रतिशत रहेको छ । 

तालिम नलिएका र सूचिकृत नभएका स्वास्थ्यकर्मीबाट अवैधानिक रुपमा सेवा प्रवाह भइरहेको महाशाखाका प्रमुख डा। भीम सिंह तिंकरीले बताए । 

नेपालमा गर्भपतनको हालको स्थिति
परिवार कल्याण महाशाखाका अनुसार नेपालमा प्रतिवर्ष ३ लाख २३ हजार महिलाले गर्भपतन गराउने गरेका छन् ।  ती मध्ये ५८ प्रतिशतले असुरक्षित गर्भपतन गर्छन् । नेपालमा कुल मातृमृत्यु मध्ये ७ प्रतिशत असुरक्षित गर्भपतनको कारणले हुने गरेको छ । 

नेपालमा मात्र नभई विश्वमा नै असुरक्षित गर्भपतनको अवस्था भयावह बन्दै गएको छ । प्रत्येक वर्ष विश्वमा २ करोड ५० लाख महिला तथा किशोरीले असुरक्षित तरिकाले गर्भपतन गराउँछन् । 
महाशाखाका अनुसार विश्वमा हुने मातृमृत्युमध्ये करीब ८ प्रतिशत असूरक्षित गर्भपतनको कारणले हुने गरेको पाइएको छ भने प्रतिवर्ष ४४ हजार महिलाहरुको मृत्यु असुरक्षित गर्भपतनको कारणले हुने गरेको छ ।

असुरक्षित गर्भपतनले महिलाहरुमा विभिन्न जटिलता पनि देखिने गरेको छ । विश्वमा प्रतिवर्ष ५० लाख महिलाहरु असुरक्षित गर्भपतनको जटिलताको कारणले विभिन्न रोगहरुबाट ग्रसित हुने पनि महाशाखाले जानकारी दिएको छ ।

नेपालमा गर्भपतनलाई कानुनी मान्यता २०५९ मा प्राप्त भएको थियो । नेपालले गर्भपतनको मान्यता पाउनुभन्दा अगाडि नेपालमा ठूला अस्पतालहरुमा प्रसुति रोग सम्बन्धि भर्ना भएका महिलाहरु मध्ये ५४५ महिलाहरुलाई गर्भपतनको जटिलता भएको पाइएको थियो । 

स्वास्थ्य संस्थामा मातृमृत्यु भएका महिलामध्ये २० प्रतिशत आमाको मृत्यु गर्भपतन सम्बन्धि जटिलताको कारणले भएको पाइएको महाशाखाले जनाएको छ । ०५९ भन्दा अगाडि महिलाहरुले गर्भपतन पश्चात आफ्नो स्वास्थ्य समस्याको उपचार गर्न अस्पतालमा रु। १५०० देखि १०,००० सम्म खर्च गरेको पाइएको छ ।त्यसैगरी २० प्रतिशत महिला गर्भपतन गराएको तथा भ्रुण हत्याको अभियोगमा जेलमा थुनिएका थिए ।

नेपालमा गर्भपतन सेवा प्रदान गर्न ३ हजार ७ सय भन्दा धेरै स्वास्थ्यकर्मीहरु  तालिम प्राप्त रहेका छन् । त्यस्तै १ हजार ३ तीन  भन्दा बढि सुरक्षित गर्भपतन प्रदान गर्ने केन्द्रको स्थापना भइसकेको छ ।
नेपालका सबैजिल्लामा सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको छ ।  नेपालमा १२ लाख भन्दा बढी महिलाहरुले सुरक्षित गर्भपतन सेवा लिइसकेका छन् । 


 

Last modified on 2019-09-28 11:16:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts