विश्व मुटु दिवसको अवसरमा नर्भिक हस्पिटलद्वारा प्रभातफेरी



Download our app to get more features

काठमाडौं, १० असोज ।  विश्व मुटु दिवस (२९ सेप्टेम्बर) को अवसर पारेर शुक्रबार नर्भिक इन्टरनेशनल हस्पिटलले मुटुरोगसम्बन्धी जनचेतना जगाउन काठमाडौंमा प्रभातफेरी निकालेको छ । प्रभातफेरीमा गतवर्षभरी नर्भिक अस्पतालमा विविध खाले मुटुरोगको सफलतापूर्व उपचार गराई नवजीवन प्राप्त गरेका बिरामी, चिकित्सकहरु, नर्भिकका कर्मचारीहरु र सर्वसाधारणको सहभागीता थियो । विश्व मुटु महासंघको आव्हानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि यो दिवस मनाउन थालिएको हो । 

विश्व मुटु महासंघमा आबद्ध विश्वभरका एक ५० भन्दा बढी सदस्य राष्ट्रहरूमा दिवस मनाइन्छ । महासंघको सन् २००५ को तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष एक करोड ७५ लाख भन्दा बढी मानिसले रक्तनली, पक्षाघात तथा मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेका छन् । यो संख्या अझै बढी भएको अनुमान छ । तसर्थ, मुटुरोगलाई संसारकै एक नम्बरको ज्यानमारा मानिन्छ । अर्कोतर्फ मुटुजन्य रोग लागेपछि त्यसले ज्यान नलिए पनि अङ्गभङ्ग हुने लगायत जटिलताहरू निम्त्याउने गर्छ । यसखाले विकराल समस्याबाट जोगिने भनेकै मानिसलाई रोग लाग्नबाट कसरी बचाउने भन्ने हो । यसमा जनचेतनाको अत्यन्तै ठूलो भूमिका रहन्छ । 

मुटु दिवसका अवसरमा संसारभर बृहत् मुटु परीक्षण÷प्रशिक्षण शिविरहरू, वैज्ञानिक एवम् चिकित्सकीय गोष्ठी तथा कार्याशाला एवम् जनचेतना अभिवृद्धि गराउने खालका प्रवचनलगायत प्रभातफेरी जस्ता कार्यक्रम हुन्छन् । नेपालमा पनि विभिन्न स्वास्थ्य संस्थाले जनचेतनामुलक कार्यक्रम गर्दै आएका छन ।

नर्भिकले आयोजना गरेको प्रभातफेरीमा हस्पिटलका मुटुरोग विभागीय निर्देशक प्राडा यादवदेव भट्टसहित अन्य मुटुरोग विशेषज्ञहरू, कर्मचारीहरू लगायत, संघ संस्थाका पदाधिकारीहरू गरी दुई सय जना सहभागी थिए । प्रभातफेरि बिहान ६ः३० बजे नर्भिकको प्राङ्गणबाट सुरु भई कुपण्डोल, पाटनढोका, कृष्णमन्दिर हुँदै नर्भिक पुगेर टुङ्गिए अस्पतालका नायव महाप्रबन्धक आरपी मैनालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 

Last modified on 2019-09-28 11:15:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts