२७ वर्षीया खगित्राले जन्माइन् चम्ल्याहा शिशु, चिकित्सक भन्छन्ः दुर्लभ घटना

बीबीसी, ९ असोज । २७ वर्षिया खगित्रा शाहीले बुधवार एकैपटक चारजना शिशुहरूलाई जन्म दिएकी छन् ।
काठमाण्डू मेडिकल कलेज (केएमसी) मा शाहीले ४ जना शिशुहरुलाई एकैपटक जन्म दिएको घटनालाई चिकित्सहरूले भने ‘दुर्लभ’ घटना बताएका छन् ।
आठ महिनाको गर्भपछि शल्यक्रियामार्फत् जन्माइएका ति शिशुहरूमा तीनजना छोरा र एकजना छोरी छन् ।
तीनजना शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको तर एकजनाको अवस्था भने अस्थिर देखिइरहेको शल्यक्रियामा संलग्न एकजना नर्स अल्पना अधिकारीले बताइन् ।
दुर्लभ
केएमसीकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. चन्दा कार्की भन्छिन्, “सामान्य तरिकाबाटै बस्ने गर्भमा यस्तो हुनु निकै दुर्लभ हो । मेरो ३५ वर्षे अनुभवमा मैले देखेको यो दोस्रो चम्ल्याहा जन्म हो ।”
‘टेस्टट्युब बेबी’ का रूपमा जन्माइने सन्तानका हकमा भने एकभन्दा बढि बच्चाहरू गर्भमा रहन सक्ने बताइन्छ ।
बुधवार जन्मिएका शिशुहरू ३४ हप्ता पुगेपछि जन्मिएका कारण ती शिशुहरूलाई श्वासप्रश्वासमा कठिनाई हुनसक्ने हुँदा केही साता विशेष स्वास्थ्य निगरानीमा राख्नुपर्ने शल्यक्रियामा संलग्न स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
सामान्यतः नवजात शिशु जन्मंदा साढे दुई किलो तौल हुनुपर्ने मानिन्छ । ३४ हप्ता पूरा भएपछि फोक्सो पूर्ण रूपमा विकास हुनेगर्छ ।
“तर यसरी जन्मने शिशुमा फोक्सोको विकास हुने काम केही छिटो हुन सक्छ । किनकि ती शिशुहरूले गर्भमै तनावपूर्ण अवस्था बेहोरेर हुर्कने हुँदा तिनको शारीरिक विकासमा परिपक्वता छिट्टै देखिने सम्भावना हुन्छ ।”
जन्मिएका शिशुमध्ये सबैभन्दा कम एकजनाको तौल ९ सय ५० ग्राम र बाँकी तीनको क्रमशस् झण्डै १.४ केजी, १.५ केजी र १.६ केजी रहेको चिकित्सकहरूले बताएका छन् ।
बच्चा जन्मनुअघिको ‘सकस’
चारवटा बच्चा गर्भमा रहेको भन्ने पहिले नै थाहा भएपछि झण्डै एक महिनाअघि खगित्रालाई उनको परिवारले धनगढीबाट काठमाण्डू ल्याएको थियो ।
उनका श्रीमान पदम बहादुर शाही भन्छन् “पछिल्ला केही साता त उनलाई हिँड्न, उठबस गर्न र खाना खान नै निकै कठिन भएको थियो ।”
तर चिकित्सकहरू भने शिशुका शरीरका अङ्गहरूको विकासका लागि भन्दै कम्तीमा ३४ साता पुर्याउन जोड दिइरहेका थिए ।
“३४औं साता पुगेको दिन शल्यक्रिया गरियो,” पदम बहादुर शाहीले भने ।
पाठेघर निकै तन्कने हुँदा चारवटा शिशुलाई शरीरमा पूरा समय राख्न लगभग असम्भव नै हुने स्त्रीरोग विशेषज्ञ कार्की बताउँछिन् ।