अतिरिक्त शुल्क फिर्ता नगरे फेरि सत्याग्रह गर्ने डा.केसीको चेतावनी

काठमाडौं, ८ असोज । प्राध्यापक डाक्टर गोविन्द केसीले नीजि मेडिकल कलेजहरुले लिएको अतिरिक्त शुल्क फिर्ता नगरे फेरि सत्याग्रहमा जाने चेतावनी दिएका छन् ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै डा.केसीले रकम फिर्ता गर्न लगाएर दोषी मेडिकल कलेजलाई दण्डित गर्नुपर्ने माग गरेका छन् ।
डा. केसीले रकम फिर्ता लगायत पूर्वसहमति कार्यान्वयन नभए जुनसुकै बेला सत्याग्रह सुरु गर्न सकिने चेतावनी समेत विज्ञप्ति मार्फत दिएका छन् ।
रकम फिर्ता नगरेसम्म आगामी शैक्षिक सत्रका लागि सिट निर्धारण र विद्यार्थी काउन्सिलिङको काम अघि बढाउन नहुने भन्दै उनले शुल्क र सिट वैज्ञानिक रुपमा निर्धारण गर्न चिकित्सा शिक्षा आयोगको ध्यानार्कषण गराएका छन् ।
विश्वविद्यालयहरुमा योग्यता र वरिष्ठताको आधारमा पदाधिकारी नियुक्त गर्न विज्ञप्ति मार्फत सरकारलाई सुझाव समेत दिइएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायत चिकित्सा शिक्षाको पढाई सुरु गर्न माग गरेका छन् । प्रत्येक प्रदेशमा मेडिकल कलेज पुर्याउने कामलाई गम्भीरताका साथ कार्यान्वयन गर्न पनि विज्ञप्तिमार्फत् स्मरण गराइएको छ ।