औषधि तथा उपकरण हेर्ने छुट्टै महाशाखा बनाउँदै स्वास्थ्य मन्त्रालय

काठमाडौं, ८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि तथा उपकरण हेर्ने छुट्टै महाशाखा बनाउने भएको छ । औषधि तथा उपकरणको गुणस्तरियता कायम राख्न छुट्टै महाशाखा बनाउन लागिएको हो ।
विश्व फर्मासिस्ट दिवसको अवसरमा आयोजीत कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले मन्त्रालयले औषधि तथा उपकरण हेर्ने महाशाखा बनाउँदै गरेको जानकारी दिए । नेपालमा फार्मेसिबाट औषधि भनेर बेचिने पूरक आहारहरुको बिगबिगी रहेको भन्दै यसलाई कडाइ गर्न फार्मेसी एसोसिएसन अफ नेपालले माग पनि राखेको छ । एसोसिएसनका तर्फबाट बिनोद सिंह महतले फार्मेसीमा पाइने यस्ता पुरक आहारलाई औषधि भनेर बेचिने गरेको र त्यस्ता उत्पादनको दर्तासम्म नभएको उनले बताए । डाक्टरहरुले प्रेस्कृप्सनमा नै लेखेर बिरामीलाई यस्ता पुरक आहार किन्न लगाइरको पनि उनले आरोप लगाए । चिकित्सकहरुले औषधि भन्दा बढि पुरक आहार बिरामीका सिफारिस गर्दा बढि आर्थिक भार पर्ने गरेको पनि देखिन्छ ।
यद्यपि नेपालमा कति यस्ता पूरक आहार बिक्रि वितरण हुन्छ ? कति नेपालमा भित्रिन्छ यसको कुनै हिसावकिताव नै नरहेको पनि उनले बताए । कार्यक्रममा डा। अरुणा उप्रेतीले भने घरको कोदो बेचेर न्युटासिटिकल्सको प्रयोग नगर्न आग्रह गरिन्। नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले भने पुरक आहार सप्लाइ हुनुमा ७५ प्रतिशत हात फार्मेसीको रहेको बताए । उनले फार्मेसीले बिना प्रेस्किप्सन औषधि दिने हुँदा यस्तो प्रवृत्ति मौलाएको आरोप पनि लगाए । साथै उनले यसको नियन्त्रणका लागि निगरानी मात्र नगरेर कारवाही पनि हुनुपर्ने बताए । साथै जनचेतनालाई पनि जोड दिन उनले आग्रह गरेका छन् । \