निजी मेडिकल कलेजले सरकारलाई बुझाए साँचो, विद्यार्थी भर्ना नलिने घुर्की

काठमाडौं, ८ असोज । एशोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले देशभरका मेडिकल कलेजको साँचो सहितको ज्ञापन पत्र सरकारलाई बुझाएको छ ।
सरकारले मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्ने निर्णय गरेपछि संघले विरोध जनाउँदै साँचो बुझाएको हो । विद्यार्थीहरुसँग असुलेको अतिरिक्त शुल्क फिर्ता नगरे ठगी मुद्दा अन्तर्गत कारबाही गर्ने निर्णय गरेपछि संघले विरोध जनाएको हो ।
संघले विज्ञप्ति जारी गर्दै सरकारले मेडिकल कलेजको हकमा मापदण्ड निर्धारण गर्दा सरोकारवालाको विना कुनै सल्लाह र सहमतिमा परिवर्तन गरी जवरजस्ती लागू गर्नाले मेडिकल कलेजहरु बन्द हुने अवस्था पुगेको भन्दै सरकारले यो विषयमा सोच्नुपर्ने जनाएको छ ।
विज्ञप्तिमा नेपालमा विदेशी विद्यार्थीलाई भित्र्याउनुपर्नेमा सरकारले उल्टै निजी मेडिकल कलजको छवि विगार्ने गरि विदेशी विद्यार्थीलाई भड्काउने वातावरण बनाउने काम गरेको उल्लेख छ ।
संघले शुल्क निर्धारण, चिकित्सा शिक्षा आयोगले निर्दिष्ट गरेको सिद्धान्त बमोजिम शिक्षण शुल्क निर्धारण नगरि विदेशी विद्यार्थीहरुको भर्ना सम्बन्धी स्पष्ट नीति तथा संघीय संसद, प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजहरुको शुल्क लगायतका विषयका सन्दर्भमा दिइएको निर्देशन पालना गराउनुपर्ने अन्यथा विद्यार्थी भर्ना नगर्ने जनाएको छ ।