डडेल्धुरामा स्वास्थ्य सेवा सुधार हुँदै
७२ प्रतिशत सुत्केरी हुन आउँछन् स्वास्थ्य संस्थामै
डडेल्धुरा, ७ असोज । डडेल्धुरामा स्वास्थ्य सेवा पहिलेको भन्दा सुधारउन्मुख रहेको पाइएको छ । डडेल्धुराका स्वास्थ्य संस्थाले दिइरहेको सेवा वर्षेनि सुधार भइरहेकोे एक तथ्यांकले देखाएको छ ।
स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्याङ्कअनुसार दुई वर्ष पहिले झण्डै ६९ प्रतिशत महिलाहरु संस्थागत सुत्केरी हुने गरेकोमा गत आर्थिक वर्षमा त्यो अनुपात बढेर ८० प्रतिशत पुगेको छ । त्यस्तै आर्थिक वर्ष २०७३/०७४ मा ‘एसबिए’ तालिम प्राप्त स्वास्थ्यकर्मीबाट ६७ प्रतिशत महिला सुत्केरी भएका थिए भने गत आर्थिक वर्षमा त्यो प्रतिशत बढेर ७१ पुगेको थियो । यो आर्थिक वर्षमा भने ७२ प्रतिशत सुत्केरीले ‘एसबिए’ तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सेवा लिएको कार्यालयले प्रस्तुत गरेको तथ्याकंमा उल्लेख छ ।
जिल्ला सदरमुकाममा मंगलबारबाट सुरु भएको स्वास्थ्य कार्यालय डडेल्धुराको २ दिने वार्षिक समिक्षा कार्यक्रममा कार्यालयले विभिन्न तथ्याकं प्रस्तुत गरेको छ । कार्यालयको तथ्यांक अनुसार सुत्केरीले स्वास्थ्य संस्थामै गएर सेवा लिएको संख्यामा पनि बढोतरी भएको पाइन्छ । जहाँ २ वर्ष पहिले २० प्रतिशत सुत्केरीले सुत्केरी भइसकेपछी स्वास्थ्यमा गएर नियमित ३ पटक चेकजाँज गरेका छन भने यो आर्थिक वर्षमा २७ प्रतिशत सुत्केरी स्वास्थ्य संस्थामा गएका छन् ।
जिल्लामा मलेरीया रोगको नमुना जाँच गरिएको संख्यामा पनि वृद्धी भएको छ । दुई वर्ष पहिले जिल्लामा १ हजार ९ सय ५० आशंका गरीएका बिरामीलाई चेकजाँच गरिएको थियो जसमध्य २० जनामा उक्त रोग देखिएको थियो । भने यो आर्थिक वर्षमा जम्मा २ हजार द्ध सय २२ जना बिरामीको जाँच गरिएको छ जसमध्य ११ जनामा उक्त रोग देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्याङ रहेको कार्यालयका भेक्टर कन्ट्रोर सुपरभाइजर हरिप्रसाद भट्टले बताए ।
त्यस्तै स्वास्थ्य संस्थाको ओपिडीमा गएर चेकजाँच गर्नेको संख्यामा पनि वृद्धि भएको स्वास्थ्य कार्यालयका अहेब प्रेम ऐरले जानकारी दिएका छन् । आर्थिक वर्ष २०७३÷०७४ मा कुल जनसंख्याको १०० प्रतिशत बिरामीले ओपिडीको सेवा लिएका छन भने यो आर्थिक वर्षमा त्यो प्रतिशत बढेर १ सय १२ पुगेको उनले बताए ।
स्वास्थ्य कार्यालयले यस वर्ष विभिन्न कार्यक्रम गरेको स्वास्थ्य कार्यालय प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिएका छन् । कार्यालयद्धारा विद्यालयमा आँखा शिविर, प्रजनन स्वास्थ्य शिविर, आधारभूत खोप तालिम, शहरी स्वास्थ्य केन्द्र भवन निर्माण, सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण, प्रसुति केन्द्र भवन निर्माण, किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाहरुका लागि सहयोग, नमूना स्वास्थ्य चौकी बिस्तार, भौतिक पूर्वाधार स्तरोन्नतीका लागि स्वास्थ्य संस्थाहरुलाई सहयोग, एकिकृत भेक्टर सर्भिलेन्स लगायतका कार्यक्रम संचालन भएको उनले बताए ।