अतिरिक्त शुल्क फिर्ता नगरे मेडिकल कलेजलाई ठगी मुद्दा अन्तर्गत कारबाही गर्ने सरकारको निर्णय



Download our app to get more features

काठमाडौं, ६ असोज । निजी मेडिकल कलेजहरुले अशुलेको अतिरिक्त शुल्क फिर्ता मुद्दा नगरे ठगी मुद्दा अन्तर्गत कारवाही गरिने भएको छ । 

गृहमन्त्रालयमा सोमबार भएको छलफलमा कलेजहरुलाई बढी शुल्क फिर्ता गराउन अन्तिम पटक सचेत गराउने निर्णय गर्दै विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता नगरे ठगी मुद्दा अन्र्तगत कारबाही प्रक्रिया सरकारले अघि बढाउने भएको हो । 

गृहमन्त्री रामबहादुर थापा र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा विश्वविद्यालयका पदाधिकारी सहितको बैठकले यस्तो निर्णय गरेको हो । चितवन मेडिकल कलेजले विद्यार्थीसँग सहमति गरेको एकमहिना भित्र शुल्क फिर्ता गर्नुपर्नेछ । 

गण्डकी मेडिकल कलेजले शिक्षा मन्त्रालयमा गरेको सहमति नाघि सकेकोले तत्काल बढी लिएको रकम फिर्ता गुर्नपर्ने निर्णय गरिएको हो । अन्य मेडिकल कलेजहरुको हकमा भने विश्वविद्यालयहरुलाई अन्तिम पटक सचेत गराउन निर्देशन दिइएको छ । 

बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार डिन लगायत पदाधिकारी, काठमाडौं विश्वविद्यालयका डिन सहितका पदाधिकारी र शिक्षा मन्त्रालयका अधिकारीहरु सहभागी थिए । 

विभिन्न छानविनले नेपाल मेडिकल कलेज, गण्डकी, यूनिभर्सल, किष्ट मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स, नोबेल मेडिकल कलेज, देवदह मेडिकल कलेज, चितवन, नेपालगञ्च मेडिकल कलेज, नेशनल मेडिकल कलेजले बढी शुल्क उठाएको पाइएको छ । 

यसैबीच, देशभरको मेडिकल कलेजमा मनोमानी शुल्क उठाएको विरोधमा विद्यार्थीले चिकित्सा शिक्षा संर्घष समिति गठन गरेका छन् । समितिले सोमबार चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, त्रिविको चिकित्सा शिक्षा अध्ययन संस्थान र काठमाडौं विश्वविद्यालयको स्कूल अफ मेडिकल साइन्सेसलाई शुल्क फिर्ताको पहल गरिदिन आग्रह गरेको हो ।
 

Last modified on 2019-09-24 09:07:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts