गण्डकी प्रदेशको स्वास्थ्य योजनाः बालबालिकादेखि जेष्ठ नागरिकसम्मलाई स्वास्थ्य सेवा

पोखरा, ६ असोज । गण्डकी प्रदेशले स्वास्थ्य सेवा सम्बन्धी विभिन्न योजना ल्याएको छ । जनस्वास्थ्यसँग सम्बन्धित योजनाहरु प्रदेश सरकारले सार्वजनिक गरेको हो । योजनाअन्तरगत बालबालिकादेखि जेष्ठ नागरिकसम्मलाई सेवा दिने लक्ष्य लिइएको छ ।
गण्डकी प्रदेशले आगामी आर्थिक वर्षमा सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा आम नागरिकको पहुँचमा पुर्याउन प्रदेश सरकार प्रतिवद्ध रहेको भन्दै स्वास्थ्यका लागि बजेट विनियोजन गरेको छ । स्वास्थ्य बीमा कार्यक्रम तथा आधारभूत स्वास्थ्य सेवा र स्वास्थ्य सचेतना कार्यक्रमलाई आम नागरिकको घरदैलोमा पुर्याउन आवश्यक बजेटको व्यवस्था गरेको छ । त्यस्तै मृगौला पिडित विरामीका लागि विभिन्न जिल्लामा डायलासिस सेवा उपलव्ध गराउने उद्देश्यले पर्वत, म्याग्दी, स्याङजा, गोरखा र लमजुङमा डायलासिस सेवा सञ्चालनका लागि रकम विनियोजन गरिएको सामाजीक विकासमन्त्री नरदेवी पुनले बताइन् ।
मन्त्रालयले मानव सेवा आश्रम, बृद्धाश्रम, जेष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरेको भन्दै उनले मातृ शिशु स्वास्थ्यमा सुधार ल्याउन र बाल मृत्युदर घटाउन प्रदेशभित्र महिला तथा बाल अस्पताल निर्माण कार्यक्रमलाई निरन्तरता दिने मन्त्रालयको योजना रहेको जानकारी गराइन् ।
दुर्गम तथा विकट क्षेत्रका गर्भवती तथा सुत्केरीको जटिलता व्यवस्थापनका लागि सुविधा सम्पन्न अस्पतालमा सेवा प्राप्तिका लागि एयर लिफ्टिङ सुविधा प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिन बजेट विनियोजन गरेको छ । त्यस्तै राजमार्गमा बढ्दै गएको सडक दुर्घटनाबाट हुने घाइतेको तत्कालै प्राथमिक उपचार गर्न विभिन्न स्थानमा हाइवे मोवाईल अस्पतालकारूपमा सञ्चालन गरिने उनको भनाइ छ ।
गण्डकी क्षेत्रिय अस्पतालमा बहिरंग सेवा सञ्चालन गर्न थप नयाँ भवन निर्माणको लागि रू २ करोड विनियोजन गरेको छ । दुर्गम तथा ग्रामीण क्षेत्रलाई लक्षित गरी स्थानीय तहको समन्वयमा समुदाय स्तरको स्वास्थ्य शिविर तथा स्क्रिनिङ्ग सञ्चालनका लागि १ करोड १० लाख विनियाजन गरेको छ ।
विस्तृत आयोजना प्रतिवेदन तयार भई ठेक्का सम्झौताको क्रममा रहेका मुस्ताङ, मनाङ, नवलपुर, कास्की र पर्वत जिल्लाका अस्पताल भवन निर्माणको कार्यलाई निरन्तरता दिन रू १५ करोड बजेट छुट्याएको छ । गण्डकी प्रदेश सरकारले पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा पनि गरेको छ ।