टेकुमा वैशाखयता ३ सय ४० जनामा स्क्रब टाइफस संक्रमण भएको पुष्टि

के हो स्क्रब टाइफ ? यस्ता छन् जोगिने उपाय



Download our app to get more features

काठमाडौं, ६ असोज । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा वैशाखयता ३ सय ४० जनामा स्क्रब टाइफसको संक्रमण भएको पुष्टि भएको छ । 

अस्पतालका सरुवा रोग विशेषज्ञ डा.अनुप वास्तोलाले २३ जनालाई भर्ना गरि उपचार गरिएको बताए ।

डा. बास्तोलाका अनुसार अस्पताल आउने अधिकांश बिरामी मध्ये राजधानी आसपास जिल्लाका किसानहरु रहेका छन् ।

टेकु मात्रै होइन चितवन, सुदुरपश्चिमका अधिकांश क्षेत्रमा पनि स्क्रब टाइफस फैलिँदै गएको हुनाले सचेत रहन डा.वास्तोलाले सुझाव दिए ।

स्क्रब टाइफसका कारण यो वर्ष ३ जनाको मृत्यु भइसकेको छ ।

के हो स्क्रब टाइफस ?
यो रोग मुसा र मुसा प्रजातिमा पाइने किर्ना (माइट) ले टोकेर लाग्ने रोग हो । स्क्रब टाइफस लागेमा उच्च ज्वरो आउने, छालामा बिबिरा देखिने, पसिना आउने, अत्याधिक टाउको दुख्ने, आखा रातो हुने, लिम्फ ग्रन्थिहरु सुन्निने, सास फेर्दा असजिलो हुने, र किर्नाले (माईट) टोकेको ठाउमा कालो पाप्रो देखिने गर्दछ ।

यी लक्षणहरु टाइफाइड, मलेरिया, लेप्टोइसपाइरोसीस, डेंगु आदि रोगहरुसंग मिल्दोजुल्दो हुने भएकोले प्रयोगशाला जाँच आवश्यक हुने गर्दछ । रगतमा स्क्रब टाइफस बिरुद्धको एन्टीबडी जाँच, वा पीसीआर प्रबिधि प्रयोग गरेर यसको पहिचान गर्न सकिन्छ ।

यसको अग्रिम वा छिटो पहिचान गर्न सके उपचारमा पूर्ण सफलता पाइन्छ । स्क्रब टाइफसको पहिचान भैसकेको अवस्थामा डोक्सीसाइक्लिन नामक औषधि प्रयोग गरेमा अटचालिस घण्टा भित्रमा ज्वरो कम भएर जानेछ भने बिरामीले छिटो स्वास्थलाभ गर्नसक्छन् ।

यद्यपी, औषधिको डोज भने पुरा गर्नु पर्दछ । तर उपचारमा ढिलो भए यसको जटिलताले बिरामीको मृत्यु समेत हुने गर्दछ। स्क्रब टाइफस ‘ओरेनटिया सुसुगामुशी’ नामक ब्याक्टेरियाको कारणले हुने गर्दछ ।

यसको प्रसारण माईट नामक संक्रमित किर्नाले गर्ने गर्दछ । यो खासगरी मुसामा बढी देखिने गर्दछ । 

जोगिने कसरी ?
यसबाट बच्नको लागि मुसा आउने वातावरण नै सृजना गर्नुु हुँदैन ।

घर वरिपरि सरसफाई गर्ने, अन्न भण्डारण पनि मुसाको पहुच नहुने तरिकाले व्यवस्थित गर्ने, घर बाहिर चौरमा बस्दा कपडा ओछ्याएर मात्र बस्ने, शरीर पुरा छोप्ने लुगा लगाउने र शरीरमा केहि चिलाए जस्तो लागे त्यस ठाउमा राम्ररी नियालेर हेर्ने आदि गरे यस रोगबाट बच्न सकिने छ । यो मानिसबाट मानिसमा भने सर्दैन ।

कुनै पनि बिरामी उच्च ज्वरो, आखा रातो, श्वास प्रश्वासमा बाधा भएको र अत्याधिक टाउको दुखेको अवस्थामा उपचार गर्न आएमा स्क्रब टाइफसको सम्भावना उच्च हुन सक्दछ ।

यदी तुरुन्त प्रयोगशाला निदान गर्ने अवस्था नरहेमा सहजै उपलब्ध हुने सामान्य एन्टिबायोटिक डोक्सीसाईक्लिन प्रयोग गर्दा यदी अटचालिस घन्टामा ज्वरो नियन्त्रणमा आउछ भने त्यो स्क्रब टाइफस हुन सक्ने सम्भावना बढी हुने गर्दछ । यद्यपी अन्तिम निदान गर्न भने प्रयोगशाला जाँच नै गर्नुपर्दछ ।

Last modified on 2019-09-24 09:06:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts