सुदूरका बिरामीलाई निजीको भर, सरकारी अस्पतालप्रतिको विश्वास घट्दै



Download our app to get more features

डडेल्धुरा, ६ असोज । बाजुराको बडिमालीका नगरपालिका –५ जडंङ्गाका ३२ वर्षीय पठाने लुहार धनगढिमा रहेको निजी निर्सग अस्पतालको बेडमा छन् । १ दिन अघि मात्रै ‘एपेन्डीसाइटिस’ को अपे्रसन गराएका उनी बोल्न सक्ने अवस्थामा छैनन् ।

त्यति टाँढाबाट कसरी आउँनुभयो भनेर प्रश्न गर्दा नजिकै बसिरहेको उनका भाई बुद्धि लुहारले भने, ‘जडंङाबाट गाडीमा अछामको बयलबाटा अस्पताल र त्यहाँबाट कैलालीको धनगढीमा पुग्दासम्म १२ हजार भन्दा बढी यातायातमा खर्च भयो ।’ ‘उहाँलाई अचानक पेटमा पिडा भएर बाजुरको सरकारी अस्पताल गयाँै तर त्यहाँ यता हुदैन तर छिटै अन्ततिर लैजानुुस भनेपछी अछामको बयलबाटा अस्पतालमा गयौ’ उनले भने ‘तर बैलबाटा अस्पतालमा ‘एसी’ नरहेछ त्यहाँका डाक्टरले पनि छिटै कोहलपुर, धनगढी अथवा कतै लैजानुस अब तपाईको बिरामीसँग ८/१० घण्टा मात्र छ भन्दा हामी आत्तियौ ।’

त्यसपछी तुरुन्तै गाडीमा कैलालीको धनगढीमा रहेको निर्सग अस्पतालमा ल्याएर अप्रेसन गराएको उनले बताए । धनगढीकै सेती अस्पतालमा किन जानुभएन भन्ने प्रश्नमा बुद्धि लुहार भन्छन ‘हामीलाई ऐम्बुलेन्स चालकले सोधेका त थिए कता लग्ने भनेर हामीलाई डर लागेको थियो हामीले सेती अस्पतालकोे सेवाको बारेमा सुनेका थिएनौै, त्यसैले विश्वास थिएन् । सरकारी अस्पतालमा ढिलो हुने र झन्झटिलो हुनो अनुभव हामीलाई थियो, हामीले त दाईलाई बचाउनु थियो त्यतीबेला जता छिटोहुन्छ त्यतै जाने चेतना आयो र हामी यता आयौ ।’

निजी अस्पतालमा शुल्क बढी लागेपनि सन्तृष्ट रुपमा सेवा पाएको उनले बताए । ‘मान्छे बाँचे त घरजग्गा फेरी जोड्न सकिन्छ जब बिरामी नै बाँच्दैन भने त्यस्तो सम्पतिको के अर्थ ।’ भाई बुद्धि लुहारले भने ।

यस्तो दुःख डोटीको सिखर नगरपालीका–७ लाटामाण्डौकी लक्ष्मी विकको पनि छ । उनि धनगढीकै चटकपुरमा रहेको सिपी अस्पताल नामक एक निजी अस्पतालमा उपचारार्थ छिन । आफुलाई के रोग लागेको हो भनेर अहिलेसम्म थाहा नभएको बताउँने उनी पहिले पाठेघरको अप्रेसन गरेको बताउँछिन  । पहिले डोटीकै एक निजी मेडिकलमा देखाएर औषधि खाएको तर ठिक नभएपछी सिधै कैलाली आएको उनका श्रीमान हरीसिँह विकले बताए ।  

‘त्यो महाकाली नामक निजी मेडिकलले सप्पै पैसा सकिसकेको थियो । त्यसपछी अत्याधिक पिडा भएपछी आत्तीएर सरकारी अस्पतालमा ढिलो हुन्छ भन्ने थाहा पाएकाले हामी त यहाँ आयौ’ उनले भने ‘ सरकारी अस्पतालमा त ठुला मनहुनेको मात्र मुख हेर्छन हामी जस्ता गरिबले उपचार पाउलान भन्ने त विश्वासै छैन ।’ ‘यता चेकजाँच भइरहेको र यता पनि नभए उपचारका लागी भारत लग्नुपर्ला’ उनले दुखित हुँदै भने । 

त्यस्तै पिडा दार्चलाको व्यास गाउँपालीका– ५ की हिरुदेवी धामीको पनि छ । उनको नाक र आखाँको बिचमा सुन्निएर ठुलै घाउ भएको छ । सुरुमा कैलालीको गेटा आँखा अस्पतालमा उपचार गराउन गएकी उनलाई उक्त अस्पतालले धनगढीकै मायामेट्रो नामक निजी अस्पतालमा रेफर गरेको थियो । डाक्टरको कोठा बाहिर भेटीएकी उनले पहाडमा राम्रो आखाँ अस्पताल नभएकाले यता आउनुपरेको दुःख सुनाइन । ‘अहिलेसम्म ६० हजार खर्च भइसक्यो तर उपचार भएको छैन’ उनले भनीन ‘३ दिनदेखी उपचारको पर्खाइमा छु तर झन दुःख पाइरहेकी छु ।’

यी तिन उदाहरणीय घटनाबाटै थाहा हुन्छ सुदूरपश्चिमका बिरामीले आफ्नो स्वास्थ्य अधिकार समेत पाइरहेका छैनन । यहाँका पहाडी जिल्लामा राम्रो अस्पताल तथा चिकित्सक र आवश्यक उपकरण नहुँदा बिरामीलाई सास्ती भइरहेको छ । 

दरबन्दीअनुसार पदपूर्ति नहुँदा चिकित्सकको अभाव खेप्दै आइरहेका यहाँका अस्पतालमा कर्मचारी समायोजनले भएका चिकित्सक पनि रित्तिदा झन समस्या भएको छ । २०६८ सालको जनसंख्या अनुसार सुदूपश्चिममा  २५ लाख ५२ हजार ५ सय १७ रहेको छ । त्यो संख्या वर्षेनि बढदैछ तर यहाँको सरकारी स्वास्थ्य सेवामा भने कुनै बढोतरी भएको छैन ।

कैलालीमा सबैभन्दा बढी निजी क्षेत्रको लगानीमा ठूला अस्पताल छन् । यी सबै निजी अस्पतालको उपचार सेवा महँगो छ । ‘यहाँका स्थानीय निजी स्वास्थ्य संस्थाको मारमा परेका छन् जती भन्छन् त्यती रुपैयाँ तिर्नुपर्छ ।’ स्थानीय युवा मुकेश सिहँले भने ‘हामीले त निःशुल्क पाईने औषधिको पनि बढी मुल्य हाल्नुपर्छ ।’ 

सिमा नजिकका जिल्ला भारत भरोसे 
बैतडीको दशरथचन्द नगरपालीकाका अशोक चन्द बुवाको उपचारका लागी भारतको खटिमा गएका थिए । नेपालमा बिरामीलाई चेकजाँच समेत राम्रोसँग नगर्ने गरेकाले भारत गएको उनले बताए । ‘सरकारी अस्पतालमा उपचार हुन्न निजीमा धेरै महङ्गो हुन्छ’ उनि भन्छन ‘सुरुमा त डाक्टर नै हुन्नन्, डाक्टर भए उपकरण छैन भनेर रेफर गरिदिन्छन त्योभन्दा त भारतमा सस्तो पनि पर्छ उपचार पनि हुन्छ ।’

त्यसो त सुदूरश्चिमका जिल्लाहरु भारतिय सिमा सँग जोडिएकाले यहाँका बिरामीलाई उपचारका लागी भारत जानुपर्ने बाध्यता रहेको कुरो नयाँ हैन । यहाँका कैलाली, कंन्चनपुर, बैतडी, दार्चुला, डडेल्धुरा र दार्चुला भारतिय सिमासँग जोडीएकाले अक्सर यहाँका बिरामी भारतका अस्पताल धाउँछन । यी बाहेक अन्य जिल्लाका बिरामी समेत भारतका अस्पतालमा जाने गर्दछन । त्यहाँ बिरामीले राम्रो सेवा पाउनेमा उनिहरु ढुक्क छन । 

डोटीका हरीसिँह विक भन्छन् ‘यहाँ त स्वास्थ्यकर्मीले पनि कस्तो रुखो व्यवहार गर्छन, उता तिर कस्तो आफ्नै जस्तै व्यवहार हुन्छ ।’ आफ्नो गाउँठाउँका धेरै मानिस रोजगारीका लागी भारतमा भएकाले पनि उपचारका लागी सहज हुने उनले बताए । 

सेवा विस्तार तथा विशेषज्ञ चिकित्सकको अभाव हुँदा यहाँका बिरामीले उपचारका लागि भारत जान बाध्य हुनुपरेको हो । उनिहरुले भारतका अस्पतालहरुमा समान्य उपचारका लागि पनि लाखौ खर्च गर्नुपर्ने अवस्था बाध्यता छ, कतिपय त ठगिन्छन । त्यसैले यहाँका नागरिकले आफनो संविधानमा उल्लेख भएको आधारभुत स्वाथ्य सेवा पाउने हक हुने छ भन्ने मौलीकहकबाट पनि बञ्चीत हुनु परेको भान हुन्छ । 

सरकारी अस्पतालले किन गुमाउँदैछ विश्वास ?
सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा सरकारी अस्पताल छन् । विगतमा दुई महाकाली अञ्चल र सेती अञ्चल गरी दुई अञ्चलस्तरका अस्पताल रहेका थिए, ति दुवै अहिले प्रदेश मातहतमा छन् । कैलाली र अछाममा दुई÷दुई वटा जिल्ला स्तरिय अस्पताल छन । हरेक जिल्लामा रहेका अस्पताल स्वास्थ्य तथ्याङका दुिष्टले निकै राम्रो उपलब्धीमुलक मानिन्छन् तर उपचारको सेवालाई हेर्दा प्रदान गरिने सेवा कुनै निजी क्लिनीकभन्दा पनि कमजोर छ । यी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी भएर पनि बिरामीले विशेषज्ञको सेवा पाएका छैनन् । 

विशेषज्ञ सेवा, उपयुक्त उपकरण र भौतिक संरचनाको अभाव रहेकाले यहाँका बिरामीलाई सरकारी अस्पतालको भरोसा लाग्दैन । समान्य उपचारको लागी अस्पताल धाउँदा अस्पतालले बिरामीलाई सोझै कोहलपुर, काठमाण्डौ तथा भारतका अस्पतालमा रेफर गर्ने गरेको छ । त्यही भएर पनि बिरामी जिल्लाका अस्पतालमा नगएर सिधै निजी तथा भारका अस्पतालमा जाने गर्दछन् । 

रिफरल केन्द्रको कामगर्ने यी अस्पतालले बिरामीको विश्वास नै गुमाइसकेका छन । डडेल्धुरका स्थानिय युवा टेक खड्का भन्छन ‘समान्य चोटलाग्दा समेत रेफर गन्छि, अनि कसरी सरकारी अस्पतालको भरोसा मान्नु ।’

वर्षौदेखि चिकित्सक अभाव झेल्दै ठुला अस्पताल 
सुदुरपश्चिम प्रदेशभरका ठूला सरकारी अस्पतालको अवस्था दयनीय रहेको पाइएको छ । प्रदेशकै सबैभन्दा ठुलो डडेल्धुरा अस्पताल डडेल्धुरामा डडेल्धुरा अस्पतालका लागि सरकारले तीन सय शैया स्वीकृत गरेको छ  । अस्पतालमा २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । तर अहिले अस्पतालमा छात्रवृती करारबाट एक जना र अस्पताल विकास समितीबाट दुईजना गरी करारमा ३ जना मात्र विशेषज्ञ चिकित्सक रहेको डा. कँडेलले जानकारी दिए । 

त्यस्तै अस्पतालमा १९ जना मेडिकल अफिसरको दबन्दी रहेकोमा हालसम्म ९ जना नेपाल सरकारको तर्फबाट र १ जना करारमा गरी जम्मा १० जना मात्र रहेका थिए । त्यसमध्ये पनि ६ जना अध्ययन तथा असाधारण विदामा रहेको अस्पतालले जानकारी दिएको छ । त्यसमाथी समायोजनपछी अस्पतालमा अहिले २ जना विशेषज्ञ चिकित्सक र २ जना मेडिकल अफिसर गरी ४ जना मात्र चिकित्सक रहेका छन ।

३० स्टाफ नर्सको दरबन्दी रहेकोमा १३ जना मात्र कार्यरत अस्पतालमा १७ जनाको पद रिक्त रहेको छ, ती १३ जना मध्ये पनि ६ जना अध्ययन तथा असाधारण विदामा रहेका छन । अस्पतालमा अहिले १० जना स्टाफ नर्स करारमा रहेका छन । अहिले अधिकांश डाक्टरहरु संघमा सरुवा भएका छन् । अञ्चल अस्पताललाई झैं एकपटक प्रदेश सरकार मातहत राखिएको डडेल्धुरा अस्पताललाई अहिले संघ सरकार मातहत राखिएको छ । तर संघीय सरकारले दरबन्दीअनुसार चिकित्सक नपठाएको र अस्पतालको स्तरोन्नतिका लागि बजेट पनि नदिएपछि त्यसको अवस्था दयनीय छ ।

सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सुदूरपश्चिमकै रेफरल सेन्टर मानिएको सेती अस्पताल २०४० सालको दरबन्दीमा चलिरहेको छ । सरकारी स्वीकृत ५० शैया अस्पतालमा व्यवस्थापन समितिले २ सय ५० शैयासम्म चलाएको छ । २३ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकोमा १४ जनाको दरबन्दी रिक्त छन । तीन वर्षअघि थपिएको कार्डियोलोजी (मुटुरोग विशेषज्ञ) को दरबन्दीमा अहिलेसम्म चिकित्सक नै आएका छैनन् । समायोजनपछि पदस्थापन अब तीन जना विशेषज्ञ डाक्टर मात्रै सेती अस्पतालमा बाँकी रहेका छन ।

उता महाकाली अञ्चल अस्पतालको अवस्था झनै दनीय छ । साविकको महाकाली अञ्चल अस्पताल विकास समिति (गठन) आदेश २०४५ राजपत्रमा प्रकाशित भई ‘महाकाली अञ्चल अस्पताल’ विधिवतरुपमा स्थापना भएको ३१ वर्ष पुगेको छ । अस्पताल स्थापनाको तीन दशक बढी भएपनि जनता भने डाक्टरकै पर्खाइमा छन् । तर, डाक्टर आउने छाँट कसैगरी देखिन्न । २८ जना चिकित्सकको दरबन्दी रहेको महाकाली अस्पतालमा दुईजना डाक्टर मात्रै कार्यरत छन । 

अस्पतालमा एक जना डेन्टल, नौ तहका सात मेडिकल अधिकृत, १०औँ तहका १६ जना डाक्टर र ११औँ तहका चारजना डाक्टरको दरबन्दी भए पनि सोअनुसारको चिकित्सक पदपूर्ति भएका छैनन् ।  चिकित्सा परिचालन निर्देशनालयबाट चारजना मेडिकल अधिकृत, दुई डेन्टल अधिकृत र अस्पताल व्यवस्थापन समितिबाट एकजना मात्रै कार्यरत रहेको अस्पतालले जनाएको छ । 

अस्पतालमा दैनिक दुईदेखि तीन सयको हाराहारीमा बिरामीहरू आउने गरेका छन । तर सामान्य रोगबाहेक गम्भीर तथा ठूला प्रकृतिका बिरामी तथा घाइतेलाई अस्पतालले रेफर गर्ने गरेको अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थी बताउँछन ।

उता डोटीको जिल्ला अस्पताल गैह्रसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा सञ्चालन हुँदै आएको छ । चार जना सरकारी चिकित्सकको दरबन्दी रहेको भएतापनि उक्त अस्पताल पछिल्लो समय निजी क्षेत्रका डाक्टरले  चलारहेका छन ।

अस्पतालमा नवौँ र दशौँ तहका दुईजना र मेडिकल अधिकृत दुई जना गरी कुल चार जनाको दरबन्दी भएपनि एकजना मेडिकल अधिकृत डा. भुषण मिश्र मात्रै कार्यरत छन् ।  उनले निमित्त मेडिकल सुपरिटेन्डेण्ट भएर अस्पताल चलाइरहेका छन् । अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक अभावका कारण स्वास्थ्य सेवा विस्तारमा समस्या अस्पताल प्रशासनले जनाएको छ । 

त्यस्तै जिल्ला अस्पताल बैतडीमा ३ डाक्टरको दरबन्दी रहेकामा एउटाले मात्रै धानेका थिए । निमित्त मेडिकल सुपरिटेन्डेन्ट डां जगदीशचन्द्र विष्टले हालसम्म काम चलाउँदै आए पनि संघमा समायोजन भएकाले उनी पनि हिँड्ने तयारीमा छन । अस्पतालमा ४ स्टाफ नर्सको दरबन्दी भए पनि सबै पद खाली छन ।

Last modified on 2019-09-24 09:06:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts