दुईजना डाक्टरको भरमा कञ्चनपुरको महाकाली अस्पताल

डडेल्धुरा, ५ असोज । २८ जना चिकित्सकको दरबन्दी रहेको कञ्चनपुरको महाकाली अस्पतालमा दुईजना डाक्टर मात्रै कार्यरत हुँदा समस्या भएको छ । अस्पतालमा पहिलेदेखि नै दरबन्दी अनुसारका चिकित्सक पदपूर्ति नभएको अवस्थामा उल्टै कर्मचारी समायोजनले भएका चिकित्सक पनि रित्तिने सम्भावना बढेकाले झनै समस्या भएको हो ।
अस्पतालले दरबन्दी अनुसार पदपूर्ति नहुँदा चिकित्सकको अभाव खेप्दै आएको छ । तत्कालीन महाकाली अञ्चल अस्पताल रहेको भीमदत्त नगरपालिका–१८ महेन्द्रनगरको अस्पताल अहिले सुदूरपश्चिम प्रदेश मातहतमा छ । अस्पतालमा अझै पनि दरबन्दीअनुसार चिकित्सक पदपूर्ति भएको छैन् । उल्टै कर्मचारी समायोजनले भएका चिकित्सक पनि रित्तिने सम्भावना बढेको छ ।
२८ जना चिकित्सकको दरबन्दी रहेको महाकाली अस्पतालमा प्रसूति रोग विशेषज्ञ हरिकुमार श्रेष्ठ र छाला रोग विशेषज्ञ शम्भुदत्त जोशी गरी दुईजना डाक्टर मात्रै कार्यरत छन् । सर्जन डा. कृष्ण भट्ट समायोजनमा कान्ति बाल अस्पतालमा गएपछि दुईजना मात्रै डाक्टर बाँकी रहेका हुन् । अस्पतालमा एक जना डेन्टल, नौ तहका सात मेडिकल अधिकृत, १०औँ तहका १६ जना डाक्टर र ११औँ तहका चारजना डाक्टरको दरबन्दी भए पनि सोअनुसारको चिकित्सक पदपूर्ति भएका छैनन ।
चिकित्सा परिचालन निर्देशनालयबाट चारजना मेडिकल अधिकृत, दुई डेन्टल अधिकृत र अस्पताल व्यवस्थापन समितिबाट एकजना मात्रै कार्यरत रहेको अस्पतालले जनाएको छ । ‘सामान्य रोगबाहेक गम्भीर तथा ठूला प्रकृतिका बिरामी तथा घाइतेलाई अस्पतालले रेफर गर्ने गरेका छ’ अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थी भन्छन ‘दरबन्दीअनुसार डाक्टरको पदपूर्ति नभएका कारण समस्या भइरहेको छ ।’
अस्पतालमा दैनिक दुईदेखि तीन सयको हाराहारीमा बिरामीहरू आउने गरेका छन् । तर त्यत्तिकै संख्यामा जिल्लाका अन्य स्वास्थ्य चौकी तथा क्लिनिकहरूमा समेत बिरामी जाने गरेका छन् । महाकाली अस्पताल हुँदा हुँदै चिकित्सकको अभावका कारण यहाँका बिरामी भारतीय तथा अन्यन्त्र अस्पतालमा जान बाध्य छन ।