बोनम्यारोको प्रत्यारोपण अब नेपालमै 



Download our app to get more features

काठमाडौं, ३ असार । नेपालमा मासी प्रत्यारोपण (बोन म्यारो ट्रान्सप्लान्ट) हुने भएको छ । सरकारले केही दिनअघि ६ महिनाभित्र कुनै एक सरकारी अस्पतालमा बोन म्यारो ट्रान्सप्लान्ट गराउन आधुनिक एथरसिस उपकरण जडान गर्ने निर्णय गरेको हो ।

नेपालमा हालसम्म बोन म्यारो ट्रान्सप्लान्टको सुबिधा छैन । सरकारी निर्णयसँगै नयाँ वानेश्वरस्थित सिभिल अस्पताल र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेण्टरले बोन म्यारो ट्रान्सप्लान्टका लागि तयारी यसअघि नै सुरु गरेको स्रोतले बतायो । 


के हो मासी (बोन म्यारो) ?

हड्डीको भित्री भागमा ‘बोनम्यारो’ भनिने लचिलो तन्तु (टिस्यु) रहेको हुन्छ, जसबाट राता रक्तकण उत्पादन हुन्छन् । अर्थात हड्डीको भित्री भागमा रहेको बोनम्यारो नै रगत उम्रिने मूल हो । बोनम्यारोको ‘हेमाटोप्वाइटिक’ भनिने घटक तत्व (कम्पोनेन्ट) बाटै हरेक दिन ५ खर्ब रक्तकोसिका पैदा हुन्छन् । शरीरको प्रतिरक्षा प्रणाली वा आन्तरिक रोगको उपचार गर्ने प्रक्रिया (इम्युन सिस्टम) बनाउने कार्य पनि हड्डीमा रहेको बोन म्यारोले नै हो ।

त्यसैले बोन म्यारोको प्रत्यारोपणले शरीरको प्रतिरक्षा प्रणाली वा आन्तरिक रोगको उपचार गर्ने प्रक्रिया (इम्युन सिस्टम) लाई बढाई दिन्छ र रगतलगायत क्यान्सर जस्ता प्राणघातक रोगहरुको सफल उपचार गर्न सकिन्छ । 


मासी प्रत्यारोपण (बोन म्यारो ट्रान्सप्लान्ट) कसरी गरीन्छ ?

बोन म्यारो हड्डीको भित्री भागमा हुने रगतको कोषहरु बन्ने मूल हो । जसलाई फादरसेल पनि भनिन्छ । वरिष्ठ रगत रोग विशेषज्ञ डा. अजय झाले मासी प्रत्यारोपण अरु अंग प्रत्यारोपण गरेजस्तो नभएको बताए । उनले रगत दिएजस्तै विधि भएपनि मासी प्रत्यारोपण प्रक्रिया जटिल हुने बताए । 

दक्ष चिकित्सकहरुले निर्मलीकृत कटन कपडाको सहयोगमा गालाबाट र्याल जम्मा गरी नमुना संकलन गर्छन् । नमुन को अध्ययनपश्चात संक्रमित कोषसँग अनुकुल भएमात्र बोनम्यारो प्रत्यारोपण गरीन्छ । जुन रक्तदान प्रकृया जस्तै हो । रक्तदानमा जस्तै गरी रगत निकालिन्छ, त्यसबाट बोन म्यारो छुट्याइएपछि बाँकी रगत पुन दाताकैमा फर्काइन्छ । यसरी छुट्याइएको बोन म्यारो कोषहरु अपेक्षित व्यक्तिहरुको जीवन रक्षा गर्न प्रयोग गरिन्छ ।

यसका लागि आधुनिक एथरसिस उपकरण आवश्यक पर्दछ । मासी प्रत्यारोपण गर्नुभन्दा पहिले एचएलए रगतको परिक्षण गरेर बोन म्यारो म्याच गर्नुपर्दछ । त्यसपछि स्टिम सेल प्रत्यारोपण गनुपर्ने डा. झाको भनाई छ । 

चिकित्सकहरुका अनुसार बोन म्यारो म्याच आफ्नो पारिवारिक नातामा बढी हुने गर्दछ । मुख्य गरी रगतसम्बन्धि बिरामीहरु, क्यान्सरका बिरामीहरु, सिकलेस एनिमिया तथा हेमोग्लोबिन आदिका बिरामीहरुलाई मासी प्रत्यारोपणको आवश्यक हुने चिकित्सकहरुको भनाई छ । 

 
 

Last modified on 2016-06-17 16:06:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts