मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क वृद्धि, सबै शुल्क मलेसियाले नै व्यहोर्ने

काठमाडौं, १ असोज । मलेसिया जाने कामदारको मेडिकल शुल्कमा वृद्धि भएपछि नेपाल मेडिकल व्यवसायी संघले विरोेध जनाएको छ ।
नेपाल र मलेसियाबीच भएको श्रम समझदारी अनुरुप मलेसिया जाने कामदारको मेडिकल शुल्क बृद्धि गरिएपछि संघले त्यसको विरोध गरेको हो ।
समझदारी अनुसार मलेसिया जाने कामदारको मेडिकलको सबै शुल्क मलेसियाली रोजगारदाता कम्पनीले नै बेहोर्ने भनिएको छ ।
नेपालबाट मलेसिया जाने कामदारको मेडिकल परीक्षणबापत अब ७ हजार ६ सय ६४ रुपैयाँ तिर्नुपर्नेछ । यसमा स्वास्थ्य परीक्षण शुल्क ४ हजार ५ सय छ भने मेडिकल प्रोसेसिङ चार्ज २ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
नेपालस्थित मलेसियन दूतावासले यसमा मेडिकल प्रोसेसिङ चार्जमा १३ प्रतिशत भ्याटबात ३ सय ६४ रुपैयाँ थप हुनेछ । यो रकम परीक्षणका क्रममा कामदारले नै तिर्नेछन् । उनीहरु मलेसिया पुगेपछि रोजगारदाताले कामदारको पहिलो महिनाको तलव दिँदा भुक्तानी गर्ने समझदारीमा उल्लेख छ ।
सरकारले कामदारको मृत्युदर घटाउन स्वास्थ्य परीक्षणमा मुटु लगायतको पनि जाँच गर्नुपर्ने भनेपछि शुल्क बढेको बताएको छ । तर, यो रकमको भार रोजगारदातालाई नै पर्ने भएकाले कामदारले यसबाट ठगिने अवस्था नआउने श्रम तथा रोजगार मन्त्रालयको भनाइ छ ।
तर, रोजगारदाताले यस्तो रकम तलवबाटै घटाएर भुक्तानी गरे वा भुक्तानी नै नगरे कामदारले त्यहाँ ७६ सयरका लागि कानूनी लडाइँ नै लड्नुपर्ने अवस्था आउने देखिन्छ ।
सरकारले १५ महिनापछि आइतबारबाट मलेसियाको रोजगारी खुला गरेको छ । अहिले मलेसिया जाने कामदारले पुरानै ३६ वटा स्वास्थ्य संस्थाबाट मेडिकल गराउन सक्नेछन् । नोभेम्बरपछि मलेसियाले सरकारले प्रस्ताव गरेका ८६ वटा स्वास्थ्य संस्थाको अनुगमन गरेर तीनलाई पनि स्वास्थ्य परीक्षणमा सहभागी गराउने सहमति भएको छ ।