संविधान दिवसको पूर्वसन्ध्यामा देशैभरका स्वास्थ्य संस्थामा निःशुल्क ओपिडी

काठमाडौं, ३१ भदौ । सरकारले असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा निःशुल्क सेवा प्रवाह गर्ने निर्णय गरेको छ ।
असोज ३ मा संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिवसको अघिल्लो दिन आफू मातहतका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाको बहिरंग (ओपिडी) सेवाको टिकट निःशुल्क गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले आफू अन्तर्गतका संघीय अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट ०७६ असोज २ का दिन ओपिडी सेवाको टिकट निःशुल्क हुने जनाएको छ । यसका लागि सम्बन्धित सबैलाई सर्कुलर गरिसकेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठको भनाइ छ ।
उनका अनुसार बहिरंगमा आउने सम्पूर्ण बिरामीका लागि असोज २ का दिन शुल्क नलिने निर्णय भएको छ ।
मन्त्रालयका अनुसार, ओपिडी निःशुल्क भए पनि अन्य सेवा भने पूर्ववत् नै प्रवाह हुनेछ ।
देशभर अहिले झन्डै ७ हजारको सख्यामा स्वास्थ्य संस्थाहरु रहेका छन् ।