झाँक्रीले पेट चिरेर गम्भिर बनेका राजुको मृत्यु



Download our app to get more features

धादिङ, ३१ भदौ । तान्त्रीक विधिबाट उपचार गरिदिन्छु भन्दै झाँक्रीले ब्लेडले पेट चिरेर गम्भिर घाइते भएका राजु मगरको मृत्यु भएको छ ।

निलकण्ठ नगरपालिका वडा नम्बर ९ झगरेका ३९ वर्षका राजु मगरको सोमबार राति मृत्यु भएको हो । 

२ महिनाअघि जन्डिसले थलिएका राजुलाई लामा झाँक्री बताउने सदरमुकाम धादिङवेशींका गजबहादुर लामाले पेटको जन्डिस चुसेरै निकालिदिन्छु भन्दै घरमा बोलाएर ब्लेडले पेट चिरेका थिए । 

पेट चिरेर निको नभएका राजु अशक्त भएपछि भदौ २५ मा जिल्ला अस्पताल धादिङमा भर्ना भएका थिए । पेट चिरेर विकार निकालेबापत लामाले ८ हजार रुपैयाँ पनि असुलेका थिए । 

झाँक्रीले पेटमा प्वाल खोपिदिएकाले अवस्था झनै जटिल भएपछि उनलाई उपचारका लागि काठमाडौँ पठाइएको थियो । तर, काठमाडौंमा  नयाँबजारस्थित पिपुल मेडिकल कलेजले अरुले बनाइ दिएको घाउ आफूले नहेर्ने भन्दै पेटमा जमेको पानी निकालेर फिर्ता पठाएको थियो ।

राजुको मृत्युपछि लामाविरुद्ध परिवारले जिल्ला प्रहरीमा उजुरी दर्ता गराएका छन् । लामा भने अहिले फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । 

Last modified on 2019-09-18 09:55:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts