डेंगु नियन्त्रणका लागि चितवनमा सुरु भयो ‘जागौं र लागौं’ अभियान

चितवन, २९ भदौ । चितवनको भरतपुर महानगरपालिकामा डेंगु नियन्त्रणका लागि प्रदेश ३ सरकारको ‘जागौं र लागौं’ अभियान सुरु भएको छ ।
प्रदेश नम्बर ३ को समाजिक विकास मन्त्रालयले भरतपुर महानगरको अगुवाईमा ‘जागौं र लागौं’ अभियान सुरु भएको हो ।
डेंगुको नियन्त्रणको लागि गाउँ ठाउँमा पानी जमेको खाल्डा पुर्ने अभियानमा जिल्लाका सरकारी कार्यालयका कर्मचारी र स्थानीयको र्यालीसहितको अभियान भरतपुरको पारस बसपार्कबाट सुरु भएको थियो ।
जस्तो सुकै स्प्रे गरे पनि लामखुट्टेको लार्भा मार्न नसकिने हुँदा पानी जम्न नदिनु नै उपयुक्त विकल्प भएको स्वास्थ्य कार्यालय चितवनका अनुप अधिकारीले बताए ।
आउँदो कात्तिकसम्म प्रकोप नियन्त्रणका लागि ‘सबै जागौं, सबै लागौं’ अभियान स हरेक शनिबार जारी रहने छ । अभियानमा राजनीतिक दल, सामाजिक संघ संस्था सबैलाई सहभागी हुन भरतपुर महानगरले पनि आह्वान गरेको छ ।