हेल्थ असिसटेण्टको भरमा डडेल्धुराको जोगबुडा अस्पताल

डडेलधुरा, २९ भदौ । डडेल्धुराको आधा जति जनसंख्या रहेको भित्रीमधेस क्षेत्रको जोगबुडा अस्पताल चिकित्सकविहीन भएपछि सुनसान बनेको छ ।
जिल्ला अस्पताल बराबर १५ शय्याको जोगबुडा अस्पताल हेल्थ असिसटेण्टको भरमा चलेको छ ।
भित्री मधेस जोगबुडाको परशुराम नगरपालिका र आलिताल गाउँपालिकाको प्रमुख उपचार केन्द्रका रुपमा रहेको जोगबुडा अस्पतालमा रहेका एक मात्र चिकित्सक करुणा बज्राचार्य समायोजन भएर गएपछि अस्पताल चिकित्सकविहीन भएको हो ।
चिकित्सक बज्राचार्य समायोजन भएर गएको करिब तीन साता भएको छ । उनि गएसंगै अस्पताल तीन सातादेखि चिकित्सकविहीन बनेको हो । एकजना नवौ तह र दुई जना मेडिकल अधिकृतको दरबन्दी रहेको जोगबुढा अस्पताल अहिले तीन साता यतादेखि हेल्थ असिस्टेण्टको भरमा संचालन भइरहेको छ ।
देशैभर डेंगु, स्क्रब टाइफस र भाइरल ज्वरोका बिरामीको चाप बढेका समयमा जोगबुडा अस्पताल चिकित्सकविहीन हुँदा बिरामीलाई उपचारका लागि समस्या भइरहेको छ । जोगबुडा अस्पतालमा परशुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिकाको रुपाल क्षेत्रलगायतका सेवाग्राही आउने गर्दछन् ।
आजभोलि दैनिक रुपमा एक सयदेखि ढेड सय जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालका हेल्थ असिसटेण्ट एवं निमित्त प्रमुख तारादत्त बोहराले बताए । समायोजनमा सरुवा भएर गएपछि अहिले अस्पताल चिकित्सकविहीन बन्दा उपचार गर्न समस्या भइरहेको उनको भनाइ छ ।
अस्पतालमा चिकित्सक नहुँदा यस क्षेत्रका बिरामी उपचारका लागि धनगढी, महेन्द्रनगर लगायत भारत जान बाध्य भएका छन् । भाइरल ज्वरोका बिरामीको चाप बढेको भएपनि जोगबुढा अस्पतालमा चिकित्सक नहुँदा अस्पतालका शैया खाली रहेका छन् ।
समायोजन भएर सरुवा भएर चिकित्सकसहति अन्य स्वास्थ्यकर्मी भएको तर जोगवुढा अस्पतालमा कोही नआएकाले अहिले समस्या भइरहेको परशुराम नगरपालिकाका नगरप्रमुख तथा अस्पताल विकास समिति अध्यक्ष भीमबहादुर साउँदले बताएका छन् । बारम्बार चिकित्सकको माग गरिएपनि अहिलेसम्म अस्पतालमा चिकित्सक तथा स्वस्थ्यकर्मी नआएको उनले बताएका छन् ।