गण्डकी मेडिकल कलेजले टेरेन सरकारको निर्देशन, विद्यार्थी फेरि आन्दोलनमा

काठमाडौं, २९ भदौ । पोखराको गण्डकी मेडिकल कलेजले गैर कानूनी रुपमा असुलेको शुल्क फिर्ता नगरेपछि विद्यार्थीहरु पुनः आन्दोलित भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक महिनाभित्र तोकिएको भन्दा बढी शुल्क लिएकोले फिर्ता गर्न दिएको निर्देशन दिँदा पनि कलेजले अटेरी गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।
विद्यार्थीहरुले कलेजमा तालाबन्दी गरेपछि अस्पतालको पठनपाठन प्रभावित बनेको छ ।
पहिलो र दोस्रो ब्याचमा अध्ययनरत विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । कलेजले चर्को शुल्क असुलेको विरोधमा गत माघमा पनि उनीहरू झन्डै दुई महिना आन्दोलित बनेका थिए ।
आन्दोलनपछि मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीको उपस्थितिमा मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क एक महिनाभित्र फिर्ता गरिसक्ने भनि गत चैत ८ मै निर्णय गरेको थियो । तर, मन्त्रालयको यो निर्णय कार्यान्वयनमा नआउँदा अहिलेसम्म कुनै पनि मेडिकल कलेजले अतिरिक्त रकम फिर्ता गरेका छैनन् । यही मागमा चितवन मेडिकल कलेजमा पनि १३ दिनदेखि हडताल जारी छ ।
कलेजले करिब ६ सय विद्यार्थीसँग फरक–फरक शीर्षक र दरमा तोकिएभन्दा लाखौं बढी शुल्क लिएको छानबिनमा भेटिएको थियो । एमबीबीएस, बीडीएस, नर्सिङ, फार्मेसीलगायत स्वास्थ्यसम्बन्धी ८ विषय पढ्ने विद्यार्थीबाट एकै वर्ष १० लाखसम्म बढी उठाइएको हो । उपत्यकाबाहिर एमबीबीएस अध्ययन गर्न साढे ४२ लाखसम्म शुल्क लिन पाउने सरकारले तोकेको छ ।