डडेल्धुरामा पनि भेटियो डेंगु, सुदूरपश्चिमभरी ३५ जनामा संक्रमण



Download our app to get more features

डडेल्धुरा, २७ भदौ । डडेल्धुरामा पनि डेंगु रोगका एक जना बिरामी भेटिएका छन । बझाङको बुंगल नगरपालीका–५ का १२ वर्षीय सुरेश बोहरालाई परीक्षण गर्दा डेंगु पोजेटिभ देखीएको डडेल्धुरा अस्पतालले जनाएको छ ।

उपचारका लागि डडेल्धुरा ल्याइएका उनलाई डेंगुको लक्षण देखापरेकाले परीक्षण गर्दा डेंगु देखा परेको अस्पतालका डाक्टर जीवन खरेलले बताए  । ‘लगातार १० दिनसम्म ज्वरो आएको, आँखाको नानी दुख्ने, पिसाबमा रातो रगत जस्तो आदी लक्षण देखीएको थियो’ उनले भने ‘मिल्दो जुल्दो लक्षण देखिएकाले उनलाई परिक्षण गरिँदा डेंगु भेटियो ।’

सुदुरपश्चममा अहिले डेंगु र स्क्रब टाइफस देखीएकाले सबैले सर्तकता अपनाउनुपर्ने उनले सुझाव दिएका छन । 

सुदूरपश्चिमभरी ३५ जनामा डेंगु
हालसम्म यस प्रदेशका ७ जिल्लाका ३५ जनामा संक्रमण देखिएको छ भने १ जनाको ज्यानै गइसकेको छ । पछिल्लो तथ्याकं अनुसार कैलालीमा १६, दार्चुलामा ८, कञ्चनपुरमा ७, डोटी, अछाम, बैतडी र बझाङमा १/१ जना गरी ३५ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय राजपुर दिपायलले जनाएको छ । जसमध्ये डोटीमा एक जनाको मुत्यु भएको छ । 


७ जिल्लाकै बिरामीलाई डडेल्धुरा, कैलाली र कञ्चनपुरका अस्पतालहरुमा चेकजाँच गर्दा डेंगुको संक्रमण भेटिएको हो । प्रदेशभर हालसम्म ३५ जनामा संक्रमण देखिए पनि हजारौँ व्यक्ति प्रभावित भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । बिरामी अस्पतालको सम्पर्कमा आउने क्रम जारी रहेकाले संक्रमितको संख्या बढ्नसक्ने निर्देशनालयको भनाई छ । 
 

डेंगु नियन्त्रणका लागी अभियान 


सुदूरपश्चिममा डेंगुको संक्रमण बढ्दै गएपछी सुदूरपश्चिम प्रदेश सरकारले नियन्त्रणका लागी अभियान थालेको छ । बिहिबार धनगढीमा डेंगु रोग व्यवस्थापन सम्वन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै समाजिक विकास मन्त्रालयले प्रदेशमा ९ वटै जिल्लामा अभियान चलाइने जनाएको छ । 

यसको नियन्त्रणका लागी वृृहत सरसफाई कार्यक्रम, जनचेतना विस्तार र उपचारमा सहज पहुँचका लागी बजेटको व्यवस्था गरेको प्रदेश स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्किले जानकारी दिए ।

जलवायु परिवर्तन र जनचेतना अभावका कारण डेंगुको संक्रमण बढेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताएका छन । महामारीका रुपमा फैलीन थालेको डेंगुको नियन्त्रणका लागी मन्त्रालयबाट सक्दो प्रयास भइरहेको उनले बताए । यो रोगबाट बच्न विशेष सजगता अपनाउन मन्त्री सुवेदीले आग्रह गरेका छन ।

Last modified on 2019-09-14 08:31:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts