पाल्पा अस्पताल रेफरल बन्दै गएपछि सेवाग्राहीलाई समस्या, स्वास्थ्य बीमाको प्रभावकारिता घट्दै



Download our app to get more features

पाल्पा, २७ भदौ । स्वास्थ्य बीमा गराएका व्यक्तिले सरकारी अस्पतालमा सेवा नपाउँदा बीमाको प्रभावकारिता घट्दै गएको छ ।

नियमित उपचारका लागि सरकारी अस्पताल पुग्ने गरिब तथा असहायले नियमित उपचार पाउनबाट वञ्चित भएका छन् । उपचारात्मक सेवा प्रवाह गर्नुपर्ने पाल्पा अस्पताल ‘रेफरल सेन्टर’ बनेसँगै सेवाग्राही समस्यामा परेका हुन् ।

स्वास्थ्य बीमा गरेका जिल्लाका बीमित व्यक्तिले चार स्वास्थ्य संस्थाबाट सेवा लिन सक्छन् । बीमित बिरामीको स्वास्थ्य सेवा प्रवाह गर्न तानसेनको पाल्पा अस्पताल, रामपुर अस्पताल, ताहुँ प्राथमिक स्वास्थ्य केन्द्र र खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र सूचिकृत गरिएका छन् । तर, सरकारी सूचीकृत स्वास्थ्य संस्थामा पर्याप्त औषधि, उपकरण र दक्ष जनशक्ति नहुँदा सेवाग्राहीले अन्य नीजि स्वास्थ्य संस्था रेफरल (प्रेषण) गरिदिन भन्दै यी स्वास्थ्य संस्थामा पुग्ने गर्दछन् । 

बीरामीको उपचारका लागि पहिलो पटक सरकारी अस्पतालमा जानुपर्ने र त्यहाँ उपचार नभएर अन्य अस्पतालमा जानुपर्ने भएकाले जिल्ला अस्पताल रेफरल सेन्टरका रुपमा बन्दै गएपछि बिरामीहरु सरकार अस्पताल धाउदै गर्दा समस्या भोग्दै आएका छन् । 

पाल्पा अस्पतालमा आउने अधिकांश व्यक्ति रेफरलकै लागि आएको भेटिन्छ । यहाँ उपचार गर्न आउनेले पनि फार्मेसीबाट औषधि नपाएको महिनौं भयो । स्वास्थ्य बीमा गरेका तानसेन नगरपालिका–४ का कृष्णप्रसाद पाण्डेयले आफूले सुगरको औषधि समेत आफूले नपाएको बताए । 

बीमा कार्यक्रम चलाउन आवश्यक संरचना र जनशक्ति अभाव भएको पाल्पा अस्पतालका डा. पुष्प ज्ञवालीले बताए । सरकारी अस्पतालमा रेफरल मागेर विशिष्टीकृत अस्पतालमा जानुपर्ने बाध्यता भएको सेवाग्राहीहरु बताउँछन् । 

स्वास्थ्य बीमा बोर्ड पाल्पाका प्रमुख त्रिलोचन गैरेले जिल्लामा १ लाख ५० हजार ५ सय ४५ जना नागरिकले स्वास्थ्य बीमा गराएको बताए ।

Last modified on 2019-09-14 08:29:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts