बाजुरामा एक महिनामै अत्यधिक रक्तश्रावका कारण दुई सुत्केरीको मृत्यु

डडेल्धुरा, २७ भदौ । बाजुरामा एक महिनाको अवधिमा अत्यधिक रक्तश्रावका कारण दुई सुत्केरीको मृत्यु भएको छ । दुवै महिलाको सुत्केरी अवस्थामा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो ।
जिल्लाको बडिमालिका नगरपालिका–७ जिल्लीकी वसन्ती नेपाली र बुढिनन्दा नगरपालिका–१० निर्मला बोहोराको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु भएकी मध्य निर्मला बोहराले दुई वर्ष पहिले जिल्ला अस्पताल बाजुरामै अप्रेसन गराएर बच्चा जन्माएकी थिइन् । उक्त बच्चा मृतक अवस्थामा जन्मेको थियो । सुत्केरी भइसकेपछि अत्याधिक रक्तश्रावका कारण उपचार गराउन आएकी उनको बुधबार जिल्ला अस्पतालमै मृत्यु भएको हो ।
सुत्केरी बोहरा सुरक्षित सुत्केरी सेवा लिनका लागि ३ महिना अगाडि देखि नै जिल्ला सदरमुकाम मार्तडीमा आएकी आफन्तले बताएका छन् । ‘बोहराको शरीरबाट अत्यधिक रक्तश्राव भएका कारणले मृत्यु भएको हो’ उपचारमा संलग्न डाक्टर दुर्गा महर्जनकले भनिन, ‘भ्याकुममार्फत बच्चालाई जन्माउँदासम्म सुत्केरी महिलाको अवस्था धेरै जटिल नरहेको तर एक्कासि उच्च रक्तश्राव भइ त्यो अवस्था आएको हो ।’
यसअघि गत भदौ ७ गते बडिमालिका नगरपालिका ७ जिल्लीकी वसन्ती नेपालीको पनि सुत्केरी अवस्थामै मृत्यु भएको थियो । भ्याकुममार्फत सुत्केरी गराएको एक घण्टामै उच्च रक्तश्रावका कारण उनको मृत्यु भएको थियो ।
सुत्केरी महिला नेपालीको उपचारका क्रममा मृत्यु भएको समस्या समाधान नहुँदै यही महिना अर्को महिलाको मृत्य हुनु दुखद भएको कार्यालय प्रमुख डाक्टर रूपचन्द्र विश्वकर्माले बताएका छन् । सुत्केरी महिलाको अवस्था सामान्य भए पनि एकाएक रक्तश्राव भइ रगत दिन नपाउँदै मृत्यु भएको उनले बताए । यसरी एक महिनाको दौरानमा दुई सुत्केरी महिलाको जिल्ला अस्पतालमा मृत्यु भएपछि जिल्ला अस्पतालमा सुत्केरी गराउन आउने अन्य महिलामा डर देखिएको छ ।