डा. गिरि बने राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष

काठमाडौं, २७ भदौ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरि नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको कार्यकारी उपाध्यक्षमा डा. गिरिलाई नियुक्त गरेको हो ।
४ वर्षे कार्यकालका लागि नियुक्त भएका उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व रेक्टर र वीर अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ हुन् ।
लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वको आयोगको उपाध्यक्ष नाम सिफारिस समितिले गिरिको नाम तेस्रो नम्बरमा सिफारिस गरेको थियो । गिरिसहित सुरेन्द्र शेरचन र शम्भुकुमारको नाम क्रमशः पहिलो र दोस्रो नम्बरमा सिफारिस गरिएको थियो ।
सिफारिस समितिले चिकित्सा शिक्षा ऐनको मापदण्डअनुसार सार्वजनिक सूचना प्रकाशित गरेर उपाध्यक्षलाई कार्ययोजनासहितको आवेदन माग गरेको थियो । जसमा ११ जनाले दरखास्त दिएका थिए ।
आयोगले पूर्णता नपाउँदा ऐनको व्यवस्था बमोजिम चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षा, मापदण्ड, शुल्क निर्धारण लगायत काम प्रभावित हुने गरेको छ । ७५ प्रतिशत छात्रवृत्ति र एकीकृत प्रवेश परीक्षाको माग गर्दै विद्यार्थी आन्दोलित बनेको बेला सरकारले उपाध्यक्षको टुङ्गो लगाएको हो । आयोगलाई पूर्णता दिन उपाध्यक्षले कार्यकारी निर्देशन नियुक्त गर्नुपर्ने प्रावधान छ ।