सप्तरीमा रगत अभाव, साटासाट प्रणाली लागू

सप्तरी, २६ भदौ । तराईमा गर्मीसँगै रोगको संक्रमण बढिरहेका बेला सप्तरीमा रगत अभाव देखिएको छ ।
जिल्लाको एक मात्र सरकारी गजेन्द्र नरायाण सिंह अस्पताल हाताभित्र नेपाल रेडक्रस सोसाइटी शाखाद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रमा अहिले रगतको अभाव भएपछि साटासाट प्रणाली लागू गरिएको हो ।
रगत अभाव रोक्न साटा साटको बाध्यता रहेको केन्द्रले जनाएको छ । केन्द्रमा त्यसैले रगत लिन आउने बिरामीका आफन्तको रगत लिएर सोही परिमाणमा बिरामीलाई चाहिने ग्रुपको रगत उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।
गर्मी बढेसँगै बिरामीको चाप बढ्ने तर, रक्तदान कार्यक्रम कमै हुने गरेकाले रगतको अभाव हुने गरेको रक्तसञ्चार सेवा केन्द्रका इन्चार्ज नवीन कुमार झाले जानकारी दिए ।
केन्द्रका अनुसार दैनिक ५÷६ युनिट रगतको माग छ, तर सो परिमाणमा रगत संकलन हुन नसक्दा समस्या हुने गरेको छ । बिरामीको चाप बढ्दै गएपछि रगतको अभाव हुँदा अस्पताल भर्ना भएका कतिपय बिरामीको आफन्त रगत खोज्दै विभिन्न संघसंस्था र व्यक्तिदेखी प्रहरी र सेनासम्म पुग्ने गरेका छन् ।
एक महिना यता रगत खोज्दै पुगेका आधा दर्जन भन्दा बढी बिरामीका आफन्तलाई यहाँस्थित भिम दल गणका सेनाले रगत उपलब्ध गराएर ज्यान जोगाएका छन् । रक्तदानमा यूवाहरुको सहभागिता उल्लेखीय संख्यामा रहने गरेकोमा अधिकांश यूवाहरु वैदेशीक रोजगारका लागि विदेश पलायन हुने गरेकाले पनि रक्तदान गर्नेहरुको संख्यामा कमी आएको हो ।
यहाँ एक सरकारी अस्पताल तथा दर्जन बढि निजि अस्पताल र क्लिनिकहरु छन् । सबै ठाउँबाट प्रायः जसो रगतको माग भइरहन्छ ।