सैनामैना नगरपालिकाद्वारा डेँगु रोग नियन्त्रण गर्न अभिमुखीकरण

रुपन्देही, २६ भदौ । देशभरि नै डेँगुको संक्रमण बढ्दै गएपछि सैनामैना नगरपालिका डेंगु नियन्त्रण अभिमुखीकरण सञ्चालन गरेको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले डेँगु रोग नियन्त्रण एवं रोकथाम गर्न सैनामैनाका स्वंयसेविकाहरु तथा सरोकारवाला निकायलाई एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ ।
देशका अधिकांश क्षेत्रमा लामखुट्टेको टोकाइबाट मानिसको ज्यान समेत गएको र डेँगुको संक्रमणबाट हजारौं नागरिक प्रभावित भएको खवर पत्रपत्रिकामा आएको भन्दै सैनामैना नगरपालिकाले अभियानलाई सञ्चालन गरेको हो ।
नगरपालिकाले मुर्गिया, कलौनी र सालझण्डी गरि ११ वटै वडाका स्वंयसेविका तथा सरोकारवाला निकायहरुलाई अभियानको बारेमा अभिमुखिकरण गरेको थियो ।
अभिमुखिकरण कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीले लामखुट्टेको टोकाईबाट सर्ने सरुवा रोग डेँगु रोग भएको कारण यसबाट बच्न स्वंय नगरबासीले सर्तकता अपनाउनुपर्ने बताए ।
उनले प्रत्येक घर, टोल, वडा तथा विभिन्न संघसस्थाहरुको संयुक्त सहभागितामा पानी जम्ने ठाँउ, खाल्टाखुल्टी, सवारी साधनका ट्यार जस्ता ठाउँहरुमा पानी जम्न नदिने र यस सम्बन्धी चेतना प्रत्येक नागरिकमा प्रवाह हुने गरि सुचना दिन आग्रह गरे ।
अबको केहि दिनमा डेँगु नियन्त्रण कार्यक्रम नगर भित्र संयुक्त वडागत कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको नगर प्रमुख कार्कीको भनाइ रहेको छ । रुपन्देही जिल्ला स्वास्थ्य प्रमुख तथा कार्यक्रमका प्रमुख सहजकर्ता डा राजेन्द्र गिरिले देश नै डेंगुमय भएको दावि गरे ।
डेंगुबाट बच्न र यस सम्बन्धी टोलटोलमा ब्यापक सचेतना फैलाउन आग्रह गरे । डेंगु विरुद्ध अभियान सञ्चालन गर्न नगरबासीको सक्रियता आवश्यक रहेको सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले बताए। । आफ्नो टोललाई डेंगुरहित बनाउन सरसफाईमा विशेष ध्यान दिन भण्डारीले आग्रह गरे ।