चितवन आन्दोलनमा पक्राउ परेका विप्लव छोरा प्रकाश सहितका विद्यार्थी रिहा

चितवन, २६ भदौ । आन्दोलनको क्रममा पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) का छोरा सहित ८ जना विद्यार्थी रिहा भएका छन् ।
बुधबार भएको प्रदर्शनका क्रममा चितवन मेडिकल कलेजबाट सरकारद्वारा प्रतिवन्धित विप्लवका छोरा प्रकाश चन्द लगायत सबै विद्यार्थी राती साँढे ९ बजे रिहा भएका छन् ।
उनीहरुलाई आउने सोमबार छलफलमा बस्ने सर्तमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दान बहादुर मल्लले जानकारी दिए ।
यसअघि क्राउ परेका १७ जना मध्ये नौ जनालाई बुधबार साँझ नै अभिभावकको रोहबरमा प्रहरीले छाडेको थियो ।
सरकारले तोकेको भन्दा बढी अबैध शुल्क असुलेको, चार वर्षको अध्ययनपछि इन्टर्नशिप गरिरहेका प्रशिक्षार्थी चिकित्सकहरूलाई उचित तलबको व्यवस्था नगरिएको, चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेको ७५ प्रतिशत छात्रवृत्तिलाई साझा प्रवेश परीक्षा मार्फत सुनिश्चित गरी सीट वृद्धि कार्यान्वयन नगरेको, बिरामीले विद्यार्थी खोज्नुपर्ने अवस्थाको अन्त्य नगरेको र अस्पताल आउने बिरामीबाटै प्रयोगात्मक परीक्षा दिन पाउनुपर्ने लगायत १३ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका चिकित्सा शिक्षा सङ्घर्ष समितीले चितवनमा १८ गतेदेखि आन्दोलन गर्दै आएका थिए ।
आन्दोलनको नेतृत्व बिप्लवका छोरा प्रकाश चन्दले गरेका थिए । आन्दोलन थप अराजक हुने संकेत देखिएपछि प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बहादुर बस्नेतको निर्देशनमा चितवन प्रहरीले बुधबार हस्तक्षप गरेको थियो ।