लुम्बिनी प्रादेशिक अस्पतालमा कालाजारका कारण एक महिलाको मृत्युु

रुपन्देही, २४ भादै । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा एक महिलाको कालाजार रोगको कारण मृत्यु भएको छ ।
पाल्पा रैनादेवि छहरा गाउँपालिका वडा नं. ८ बुढीदमार निवासी २३ वर्षीया जिबन रानाको कालाजार रोगबाट मृत्यु भएको लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. कृष्ण खनालले वताए ।
मृत्यक जीबन राना मेडिकल कलेज भैरहवामा उपचार चइरहेको थियो । थप उपचारका लागि रानालाई प्रादेशिक अस्पतालमा रिफर गरिएको डा. खनालले बताए । रानाको आईसियुमा राखेर ८ दिनसम्म उपचार गरिएको थियो ।
कालाजारको यो क्षेत्रमा प्रादेशिक अस्पतालमा बाहेक अन्यत्र उपचार हुँदैन। भुसुनाको टोकाइबाट कालाजार हुने गर्दछ । कुनैबेला यो रोग तराई क्षेत्रमा मात्रै बसोबास गर्नेलाई हुने गर्दथ्यो । तर अहिले उच्च हिमाली क्षेत्र र पहाडमा समेत देखिन थालेको छ।
यो रोग लागेमा सामन्यता लगातार ज्वरो आउने गर्छ भने फियो र कलेजोमा संक्रमण बढ्न गई पेट फुल्ने, कमजोरी महसुस हुनेलगायत लक्षण देखिने प्रादेशीक अस्पतालका मेसु डा. खनालले बताए । चिकित्सकका अनुसार यो रोग लागेमा रक्तअल्पत्ता हुने, मानिस दुब्लाउदै जाने, फियो धेरै बढ्ने तथा केही समयपछि कलेजो समेत बढ्ने हुन्छ ।
कालाजार ’लेसमानिया डोनोभानी’ नामक प्यारासाइट प्रोटोजोवाका कारण हुने रोग हो । यो एक प्रकारको सेन्टलाई नामक भुसुनाको टोकाइबाट सर्छ । रोगी व्यक्तिलाई टोकेको भुसुनाले निरोगी व्यक्तिलाई टोकेमा यो रोग सर्छ । त्यसैले यसलाई सरुवा रोग पनि भनिन्छ । कुकुर, सुँगुर, हाँस, बंगुर र जंगली मुसाहरूमा यो रोग बढी पाइन्छ । कालाजार जुनसुकै उमेरको व्यक्तिलाई हुन सक्ने डा खनाल बताउछन् ।