भरतपुर अस्पतालका कर्मचारीले गरे आन्दोलनको घोषणा, नियुक्तिपत्रको माग
चितवन, २४ भदौ । नियुक्तिपत्र नपाएको भन्दै भरतपुर अस्पताल विकास समितिका कर्मचारीले आन्दोलन गर्ने भएका छन् ।
अस्पताल विकास समिति कर्मचारी युनियनले गरेको पत्रकार सम्मेलनमा उनीहरुले मंगलबारदेखि शुक्रबारसम्म आन्दोलन गर्ने भएका हुन् ।
युनियनका अध्यक्ष चन्द्रमणि बस्यालले गएको साउन महिनादेखि विकास समितिका कर्मचारीले नियुक्तिपत्र बिना काम गरिराखेको भन्दै अब आन्दोलनको बाहेक अरु कुनै बिकल्प नरहेको बताए ।
कर्मचारीको जायज मागबारे पटकपटक ध्यानाकर्षण गराउँदा पनि अस्पताल प्रशासनले आनाकानी गरेकोले आन्दोलित हुनुपरेको अध्यक्ष बस्यालले बताए ।
विगत ५५ दिनदेखि बिना करार नविकरण र बिना तलव कार्य गराउँदा प्रशासन गैह्रजिम्मेवार बनेको, डेंगु लगायतका प्रकोप नियन्त्रण तथा उपचारमा खटिएका कर्मचारीहरुको मनोवल कमजोर बनाउने कार्य गरेको लगायतका विभिन्न आरोप पनि कर्मचारीले लगाएका छन । केन्द्रीय अस्पतालको रुपमा रहेको उक्त अस्पतालमा हाल ७ सय कर्मचारीले कार्यरत छन् ।