परिवारका ३ सदस्य सहित डाक्टर रुइतलाई पनि डेंगु

काठमाडौं, २३ भदौ । नेत्ररोग विशेषज्ञ प्राध्यापक डाक्टर सन्दुक रुइत डेंगुको संक्रमणबाट प्रभावित भएका छन् ।
डेंगुको संक्रमणले आफैं बिरामी परेर उनी अहिले थापाथलीको नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
घरैमा उनीसहित परिवारका तीन जनालाई डेंगुको संक्रमण भएको जनाइएको छ ।
डा.रुइतले डेंगुले यति ठूलो रुप लिन्छ भन्ने विश्वास नलागेको तर, यो झन् भयावह बन्दै गएकोमा सचेत रहन आग्रह गरेका छन् । उनले सरकारसँग पनि डेंगु नियन्त्रणका लागि यथाशिघ्र ठोस कदम चाल्न पनि आग्रह गरेका छन् ।
पछिल्लो समय डेंगुका कारण नेपालभर झन्डै ७० हजारभन्दा बढी नागरिक प्रभावित भएका छन् भने मुलुकको एकमात्र सरुवा रोग अस्पतालका पनि १० जना स्वास्थ्यकर्मीलाई डेंगुले प्रभावित बनाएको छ ।
मुलुकका विभिन्न अस्पतालहरुमा सामान्य ज्वरो आउनेहरुको भीड लाग्न थालेको छ । मानिसहरुपनि डेंगुको चपेटमा परिएला भनेर त्रसित बनेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुका कारण अहिले सम्म ४ जनाको मृत्यु भइसकेको छ । डेंगुबाट जोगिन मन्त्रालयले आ आफ्नो स्तरबाट सचेत रहन आग्रह समेत गरेको छ ।