डेंगु रोग नियन्त्रणका लागि अभियान सञ्चालन गर्न प्रदेशसभा सांसदहरुको माग
एक मात्र प्रादेशिक अस्पतालको अवस्था दयनीय हुनु दुःखद

रुपन्देही, २३ भदौ । प्रदेश नं ५ का प्रदेशसभा सदस्यहरुले महामारीको रुपमा देखिन थालेको डेंगु रोग नियन्त्रणकालागि तत्काल अभियान सञ्चालन गर्न माग गरेका छन् ।
प्रदेश नं ५ को प्रदेशसभामाको विशेष समयमा बोल्दै सांसदहरुले चितवन, काठमाडौं, रुपन्देही, सुनसरी लगायत देशभरका ४२ भन्दा बढी जिल्लामा डेंगुको संक्रमण फैलिएको र अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको भन्दै अभियान सञ्चालनको माग गरेका हुन् । उनीहरुले मुलुकभर डेंगुका कारण ७० हजारभन्दा बढी मानिस प्रभावित भएको हुँदा समेत संघीय र प्रदेश सरकारले त्यसको नियन्त्रणकालागि कुनै कदम नचालिनु दुःखद भएको बताए ।
प्रदेशसभा सदस्य भुवनेश्वर चौधरी, रिना नेपाल विश्वकर्मा, दिर्घनारायण पाण्डेय, भिाषद तारा जीसी लगायतले प्रदेश नं. ५ मा मात्रै १ सय १० जनामा डेंगुको संक्रमण भएको र एक जनाको मृत्यु हँुदा समेत प्रदेश सरकारले कुनै ठोस अधिभयान र कार्यक्रम सञ्चालन नगरेकाले तत्काल सञ्चालन गर्न माग गरे ।
पछिल्लो ५ वर्ष यता डेंगु रोगको संक्रमण ११ प्रतिशतका दरले वृद्धि भएको भन्दै उनीहरुले डेंगु रोग नियन्त्रणकालागि संघीय सरकार र प्रदेश सरकारले तत्काल आवस्यक कदम चाल्न र प्रत्येक जिल्लामा जनचेतनामूलक अभियान सञ्चालन गर्न माग गरे ।
सांसदहरुले लुम्बिनी प्रादेशिक अस्पतालमा एउटै वेडमा तिन जना सम्म बिरामि राख्नुपर्ने अवस्था रहेको भन्दै त्यस विषयमा सामाजिक विकास मन्त्री र मन्त्रालयका उच्च अधिकारीहरुलाई ध्यान दिनुपर्ने बताए ।
प्रदेशको एउटा प्रादेशिक अस्पताल समेत व्यवस्थित गर्न नसक्नु दुखद भएको भन्दै सांसदहरुले लुम्बिनी प्रादेशिक अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्ने प्रदेश सरकारको योजना कहाँ पुग्यो भन्ने विषयमा जानकारी माग समेत गरेका थिए। । सभासदहरुले अस्पतालमा चिकित्सक अभाव लगायका विषयमा बोलेका थिए ।