सुदूरपश्चिममा १२ जनामा डेंगु, दार्चुलामा मात्रै ५ जना संक्रमित

डडेल्धुरा, २१ भदौ । नेपालमा पहिलोपटक चितवनमा भेटेको डेंगु रोग अहिले सुदूरपश्चिमका चार जिल्लामा समेत देखा परेको छ । यहाँका चार जिल्लामा १२ जनामा डेंगु रोगको संक्रमण देखा परेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।
सबैभन्दा बढी दार्चुलामा पाँच जना डेंगु रोगका बिरामी भेटिएका छन् भने कैलालीमा चार, अछाममा एक, कञ्चनपुरमा एक र डोटीमा एक जनामा यो रोगको संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
डोटीमा डेंगुका कारण एक जनाको मृत्यु भइसकेको छ । जिल्लामै पहिलोपटक देखिएको उक्त रोगबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छात्रा मलासीकोे मृत्यु भएको थियो । उनको कैलालीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा उनको भदौ ५ गते मृत्यु भएको थियो ।
धमाधम डेंगु रोगका बिरामी फेला पर्न थालेपछि अहिले सुदूपश्चिमवासीमा त्रास फैलिएको छ । डेंगु रोग नियन्त्रणका लागि डोटीको दिपायल सिलगढी नगरपालिकाले नगरस्तरीय अभियान नै सञ्चालन गरेको छ । सबैले सावधानी अपनाइ सचेत रहनुपर्ने सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले सुझाएको छ ।