डाउन सिन्ड्रोम, सुस्त मनस्थितिसहितको बच्चा जन्मिने खतरा टार्न सुरु भयो आनुवंशिक क्लिनिक
काठमाडौं, २० भदौ । डाउन सिण्ड्रोम, सुस्त मनस्थिति लगायतका बच्चाको खतरा टार्न गरिने वंशानुगत परीक्षणको सेवा अब नेपालमै पाइने भएको छ ।
ललितपुरको कुसुन्तीमा हालै सञ्चालनमा आएको नोभा इन्टरनेशनल डाइग्नोष्टिक्स प्रालिले यी लगायत विभिन्न वंशानुगत परीक्षणको सेवा सुरु गरेको हो । साथै क्लिनिकले नेपालमै पहिलोपटक स्तन क्यान्सरको बीआरसिए वान र बीआरसीए टु नामक परीक्षण पनि सुरु गरेको छ । त्यस्तै क्यान्सर हटस्पट जीन प्यानल, जेनेटिक स्कृनिंग( पीजीएस) क्वाड्रपल मार्कर स्कृनिंग तथा ट्रिपल मार्कर स्कृनिंग लगायतको निदान सेवा सुरु गरेको हो ।
गर्भावस्थामा आमाको वंशानुगत परीक्षण गरेर बच्चामा हुनसक्ने खतरनाक समस्या कसरी पहिचान गर्न सकिन्छ भन्ने विषयमा बिहीवार आयोजना गरिएको सीएमई कार्यक्रममा नेपालकै पहिलो वंशानुगत रोग विशेषज्ञ डा. नीलम ठाकुरले उल्लेखित परीक्षणका बारेमा जानकारी दिइन् ।
त्यस्तै, संस्थाले जीव रसायन परीक्षण, रगत रोगको परीक्षण, साइटोजेनेटिक्स परीक्षण, आनुवंशिक परीक्षण, जेनेटिक परामर्शका सेवा पनि सुरु गरेको छ । मुटुरोग, स्त्रीरोग, वंशानुगत रोग र बालरोगका ओपिडी सेवा पनि नोभाले सञ्चालन गरेको जनाइएको छ । क्लिनिकमा हर्मोन सम्बन्धी रोगहरु जस्तै, मधुमेह, थाइराइडका निदान र उपचार पनि दिन थालिएको छ । त्यस्तै खोपसेवा, अल्ट्रासोनोग्राफी, इकोकार्डियोग्राफी, टिएमटी परीक्षण लगायतका सेवा पनि उपलब्ध छ ।
डाइग्नोष्टिकले यसका साथै सन् २०२० सम्म नोभा इन्टरनेशनल अस्पताल पनि सञ्चालनमा ल्याउने कार्यक्रममा जानकारी दिइयो । सो अवसरमा राजधानीमा कार्यरत विभिन्न महिला तथा बालरोग विशेषज्ञ तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रेहेको थियो ।